मेरिल्यान्ड, अमेरिका — नेपाली हिन्दुहरूको चाड दसैंलाई पहिलो पटक अमेरिकामा मान्यता मिलेको छ । अमेरिकाको मेरिल्यान्ड राज्यमा पहिलो पटक कानुनी रुपमै ‘दसैं डे’ को घोषणा गरिएको हो ।
अमेरिकामा यसरी कानुनी रुपमै ‘दसैं डे’ घोषणा हुने मेरिल्यान्ड पहिलो र एकमात्र राज्य बनेको छ । राज्यले नै ‘दसैं डे’ घोषणा गरेपछि नेपालीहरु बाल्टिमोरमा धुमधामका साथ मनाएका छन् । नेपाली मुलका मेरिल्यान्डका सांसद ह्यारी भण्डारीले उक्त ‘दसैं डे’ विधेयकलाई सदनमा दर्ता गराएर दुवै सदनबाट अनुमोदन गर्ने कार्यमा सक्रिय भूमिका खेलेका हुन् ।
राज्यबाटै ‘दसैं डे’ घोषणा गरेपछि यहाँ रहेका नेपालीहरुले अमेरिका–नेपाल सांस्कृतिक केन्द्रमा गएर कार्यक्रम गरे । उक्त कार्यक्रममा राज्यमा बस्दै आएका नेपालीहरु, वासिङ्टन डिटीस्थित नेपाली दूतावासबाट गएका प्रतिनिधि तथा सांसद भण्डारी लगायतको उपस्थित रहेको थियो । साथै, अमेरिकामा एक कार्यक्रमको लागि सहभागिता जनाउन आइपुगेका सांसद चन्द्र भण्डारी पनि उपस्थित थिए ।
बाल्टिमोरबाट निर्वाचित भण्डारीले ‘दसैं डे’ विधेयक सन् २०१७ मा पहिलो पटक पेश गरेका थिए । त्यसबेला उनी पहिलो पटक निर्वाचित भएका थिए । अमेरिकामा सांसदहरुले नै विधेयक दर्ता गराउने प्रावधान हुन्छ । तर उनको पहिलो कार्यकालमा विधेयक अघि बढ्न सकेन । किनकी मेरिल्यान्डमा दसैं मनाउने हिन्दु सांसद एकमात्र भण्डारी थिए । उनको एकल पहल त्यसबेला सफल भएन । तर भण्डारीले दोस्रो कार्यक्रममा पनि आफू एक्लै मात्र हिन्दु भए पनि तल्लो र माथिल्लो दुवै सदनका सांसदहरुसँग वार्ता र छलफल गरेर ‘दसैं डे’ विधेयकलाई अनुमोदन गराउन सफल भएका हुन् ।
मेरिल्यान्ड बाहिर समेत रहेका अमेरिकामा बस्ने नेपालीहरुको लागि ‘दसैं डे’ एउटा ऐतिहासिक दिन भएको भण्डारीले बताए । ‘म सन् २००६ मा अमेरिका आएको थिएँ । म सुरुआतमा आएर मेरिल्यान्डमा ग्यास स्टेसनमा काम गरे । त्यसबेला मैले दसैंको बेलामा मेरो सेवाग्राहीलाई आज दसैं हो नि भनेर कुरा गरेँ । तर उनलाई मैले के भनेको थाहा थिएन,’ अमेरिका–नेपाल सांस्कृति केन्द्रमा आयोजित कार्यक्रममा भने, ‘मैले त्यही बेलामा के सोचेको थिएँ भने सबैलाई दसैंको बारेमा जानकारी दिने छु र यसलाई बनाउने छु । आज त्यो सपना पूरा भएको छ ।’
उनले मेरिल्यान्डले ‘दसैं डे’ मनाउने घोषणा गरेर अमेरिका विविधताको मुलुक हुने भन्ने प्रष्ट पारेको छ । ‘अमेरिकाको सबैभन्दा धनी राज्यमा मेरिल्यान्ड हो । अमेरिकाको सबैभन्दा धनी राज्य, सबैभन्दा मनकारी राज्य भयो,’ उनले भने,‘मलाई लाग्छ, अमेरिकाका अरु राज्यहरुले पनि त्यसलाई आत्मसाथ गरेर अघि बढ्ने छन् ।’
उनले कानुन भएपछि अब यो राज्य र देशमा दसैंको बारेमा पढाइ हुने जानकारी दिए । उनले थपे, ‘अब अमेरिकाका अरु व्यक्तिहरुलाई पनि यो चाडको बारेमा थाहा हुन्छ ।’
वासिङ्टनडिसीस्थित नेपाली दूतावासका उपप्रमुख कुमार खरेलले नेपालीहरुको लागि ‘दसैं डे’ ऐतिहासिक दिन भएको बताए । ‘मेरिल्यान्डमा हाम्रो नेपालीहरुको चाडलाई मान्यता दिएको छ । यसले के देखाएको छ । यो घटनाले अमेरिकालाई मौका भएको मुलुकको रुपमा चिनाएको छ । सन् २०१७ देखि ह्यारी भण्डारीजीले गर्नु भएको पहल सफल भएको छ,’ उनले भने,‘यहाँ क्षमता भएको मान्छेले काम गर्न सक्ने भन्ने प्रष्ट पारेको छ ।’
कार्यक्रममा उपस्थित सांसद चन्द्र भण्डारीले मेरिल्यान्डका सांसद भण्डारीले दसैंलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन खेलेको भूमिकालाई लिएर प्रशंसा गरे । उनले नेपालको संसद र सरकारको तर्फबाट मेरिल्यान्डको संसद् र सरकारलाई धन्यवाद दिए । उनले विश्वभर यो घटनाबाट धेरै प्रेरणा मिल्ने पनि बताए ।