निर्देशक दिनेश राउतले सातौं फिल्मको रुपमा ‘पूजार सार्की’ बनाउने घोषणा गरे

समाचार शेयर गर्नुहोस्

निर्देशक दिनेश राउतले सातौं फिल्मको रुपमा ‘पूजार सार्की’ बनाउने घोषणा गरेका छन् । जातिय विभेदविरुद्ध सन्देश दिने यो फिल्मको छायांकन माघदेखि पोखराको कास्कीकोटमा गर्ने तयारी छ ।

यो फिल्मका लागि राउतले पटकथा लेखक विकास सुवेदीसँग पुनः सहकार्य गर्दैछन् । यसअघि यी दुईले सोसल ड्रामा ‘प्रकाश’मा काम गरेका थिए । वास्तविक घटनाक्रमबाट प्रभावित भएर बनाउन लागिएको यो फिल्मका कलाकार सार्वजनिक गरिएको छैन ।

लेखक सुवेदीले यो फिल्मको कथावस्तु कम्युनिष्ट आन्दोलनमा भूमिगत भएका वास्तविक चरित्रबाट प्रेरित हुने बताए । आफूले देखेको र भोगेको अनुभवलाई मिसाएर फिल्म बनाउन लागेको उनको भनाई छ ।

‘आफ्नै अनुभव मिसाएर फिल्म बनाउँदा त्यो बलियो हुने मेरो विश्वास छ । यो फिल्म पनि त्यस्तै हो । समाज बदल्न हिँडेको एउटा कम्युनिष्ट मान्छेले जातिय समानताको लागि आफूलाई कसरी सार्कीमा बदल्छ भन्ने कथावस्तु यसमा हुनेछ’ सुवेदीले भने ।

अघिल्लो फिल्म ‘प्रकाश’मा यी दुईले कर्णालीको एक युवाले लोकसेवाको परीक्षामा पास भएर बाबुको सपना पुरा गर्ने कथा भनेका थिए । उक्त पात्रमार्फत उनीहरुले क्षेत्रीय विभेदको कथा पस्किएका थिए । यसपटक भने जातिय विभेदको कथा उठाउन लागेका छन् ।

किंगडम नेटवर्कको ब्यानरमा ‘पूजार सार्की’लाई सुभाष भुसालले निर्माण गर्दैछन् । निर्देशक राउतले यसअघि आइएम सरी, नोभेम्बर रेन, क्लासिक, पर्व, प्रकाश र प्रसादलाई निर्देशन गरेका छन् । ‘सेल्फी किङ’मा उनी निर्माता थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *