काठमाडाैं,१७ साउन
उच्च अदालत विराटनगरबाट निर्दोष सावित भएका लालबहादुर बिक रिहा भएका छन् । उनी बुधबार दिउँसो सुनसरीको झुम्का कारागारबाट रिहा भएका हुन् । उच्च अदालत विराटनगरले विगत ९ महिनादेखि ठगी मुद्दामा थुनामा रहेका बिक निर्दोष रहेको फैसला सुनाएसँगै उनी रिहा भएका हुन् ।
मंगलबार उच्च अदालत विराटनगरले ठगी मुद्दामा जिल्ला अदालत सुनसरीको फैसला उल्टाएर लालबहादुरलाई न्याय दिएको थियो । उच्च अदालत विराटनगरका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले उनलाई बिना इजाजत बैंक तथा वित्तीय कारोबार र ठगीको दुवै मुद्दामा सफाइ दिएको हो।
उच्च अदालतले आदेशको पत्र कारागारमा पठाएपछि बुधबार उनी रिहा भएका हुन् । उनको कारागारबाट बाहिर निस्कँदा भव्य स्वागत भएको थियो ।
तरहरास्थित सिंहदेवी ज्वेलर्सका मालिक दीपक परियारको आदेशअनुसार मजदुरको रूपमा काम गरिरहेका लालबहादुरबाट जिल्ला अदालतले झण्डै ५ करोडसमेत भराउन आदेश दिएको थियो । जिल्लाले गरेको फैसलाविरुद्ध आफू निर्दोष रहेको बताउँदै विक उच्च अदालत गएका थिए ।