विभिन्न प्रलोभनमा पारी वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जना पक्राउ

समाचार शेयर गर्नुहोस्

काठमाडौं,२६ साउन

वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गोरखाको गण्डकी गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका-१५ बस्ने ५० वर्षीया एक माया पुलामी मगर, सुनसरीको रामधुनी नगरपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३२ बस्ने ४० वर्षीय सन्दिप कुमार चौधरी र धादिङको थाक्रे गाउँपालिका-४ घर भई काठमाडौं कलंकी बस्ने ४५ वर्षीय सालिक राम अर्याल रहेका छन् ।

उनीहरूमध्ये मगरले १ जनालाई पोर्चुगल पठाई कृषि कम्पनीमा मासिक १ लाख ३० हजार रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पटक-पटक २ लाख ५६ हजार रूपैयाँ ठगी गरेको  पाइएको छ ।

यस्तै,अर्यालले सरोज गिरीबाट वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाइदिने भन्दै रु ५० हजार र चौधरीले रुपक बुढाथोकीबाट फ्रान्स पठाइदिने भन्दै रु दुई लाख ५५ हजार  रूपैयाँ ठगी गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको हो। पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *