काठमाडौं- पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाल एकीकरणका एक ऐतिहासिक व्यक्ति बिसे नगर्चीका सन्ततिले परम्परागत बाजा बजाएर नगरा लगाई शाहप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
गोरखाबाट आएका बिसेका सन्ततिले चन्द्रगिरिमा रहेको पृथ्वीनारायणको सालिकमा पृथ्वीनारायण शाहकालीन समयकै जस्तो परम्परागत बाजा दमाहा, सहनई आदि बजाएर शाहप्रति नगरा अर्पण गरेर उनको स्मरण गरेका हुन्। इतिहासविद्हरुका अनुसार बिसे नगर्ची पृथ्वीनारायणको नेपाल एकीकरण अभियानका एक जना सारथि हुन्।
गोरखाको माझकोट नजिकै बस्दै आएका बिसे नगर्चीले पृथ्वीनारायण शाहलाई बौद्धिक, आर्थिक र सैन्य कर्मद्वारा सहयोग गरेको इतिहासमा पाइन्छ। त्यस समय नेपाल एकीकरणका लागि हातहतियार किन्न रकम अभाव भएको अवस्थामा नगर्चीले नै गोरखा राज्यका घरधुरीबाट प्रतिघरधुरी एक रुपैयाँ कर उठाउन सुझाउँदै आफैँले एक रुपैयाँ झिकेर राजालाई दिइ यसको सुरुआतसमेत गराएका थिए भन्ने इतिहास पाइन्छ।
यसरी सङ्कलन गरिएको सो रकमबाट शाहले वनारसबाट हातहतियार किनेर ल्याएको र थप सैन्य भर्ती गरी उनीहरुका लागि हतियार किनेको इतिहासविद्को भनाइ छ। त्यसैगरी युद्धका समयमा सैनिक कपडा सिलाइदिने र विजयपछि बजाउने बाजा बनाउन र बजाउन पनि नगर्ची परिवारको योगदान रहेको थियो।