काठमाडौं- स्वास्थ्य प्रबर्द्धन तथा शिक्षा सङ्घ नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ। केन्द्रीय उपाध्यक्ष हेमराज खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि प्राध्यापक शिवप्रसाद सापकोटाले गरेका थिए।
साधारण सभाको पूर्व सन्ध्यामा केन्द्रीय कमिटीको बैठक बसेको थियो। केन्द्रीय कमिटीको बैठकले महत्वपूर्ण निर्णयहरु गरि साधारण सभाबाट पारित गरेको छ। केन्द्रीय कमिटीको बैठकले संस्थाको आगामी कार्यदिशा,विधान संशोधन, वर्तमानका समस्याहरू, नेपाल सरकारको स्वास्थ्य तर्फको संगठन संरचनामा स्वास्थ्य प्रवर्द्धन तर्फको दरबन्दी पुनरावलोकन, संस्थाले गर्नसक्ने प्रबर्द्धनका गतिविधिहरू र संघीय सरकार, प्रादेशिक सरकार र स्थानीय तह साथै विभिन्न संघसंस्था र विश्वविद्यालयहरू सँग समन्वय गरी विभिन्न कार्यक्रमहरु तय गर्न संस्थाले निर्णय गरेको छ।
संस्थाका केन्द्रीय अध्यक्ष डा शालिकराम धितालले प्रवासमा रहेर पनि स्वास्थ्य प्रबर्द्धनसँग सम्बन्धित विषयमा विद्युतीय माध्यमबाट प्रस्तुतिकरण गरेका थिए। उक्त कार्यक्रममा केन्द्रीय सदस्यहरूले वार्षिक रिपोर्टिङ प्रस्तुत गरेका थिए भने कोषाध्यक्षले आर्थिक प्रतिवेदन र महासचिवले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन महासचिव डा भक्त बहादुर केसीले गरेका थिए।