काठमाडौँ । सांसद कुमार दसौंदीले सार्वजनिक यातायात क्षेत्र सुधार गर्न सरकारलाई सुझाव दिएका छन् । बिहीबार संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सांसद दसौंदीले सार्वजनिक यातायात क्षेत्र सुधार नहुँदा बर्सेनि सयौँले ज्यान गुमाउनुपरेको भन्दै सवारीको मापदण्ड राम्रो बनाउने र सडक निर्माणमा पनि ध्यान दिनुपर्ने बताए ।
उनले पुष्पलाल राजमार्ग अन्तर्गत पर्ने राजमार्ग निर्माण प्रक्रिया किन सुस्त बनेको भन्दै भौतिक मन्त्री प्रकाश ज्वालालाई प्रश्न समेत गरे । ‘बजेट नपुगेर हो कि के हो ? हामी विद्युत धेरै भयो पनि भनिरहेका छौँ तर हाम्रो मन्त्रालयले चार्जिङ स्टेसन बनाउने नीति के छ ?’, उनको प्रश्न छ ।
अर्का सांसद गोपीबहादुर सार्कीले धेरै आयोजनाको स्थलगत भ्रमण गरेको भन्दै कतिपयमा धेरै राम्रो प्रगति भएको पनि पाएको बताए । उनले सङ्घीय सरकारले गौरवका आयोजना र साना आयोजनामा बजेट सुनिश्चितता गरिदिनुपर्ने आवश्यकता देखिएको भन्दै पूर्वपश्चिम रेलमार्ग अन्तर्गत झापाको सुनसरी क्षेत्रमा जग्गा रोक्का गरेर राखिदिएको पाइएको बताए । ‘त्यहाँ मुआब्जामा ३६ अर्ब लाग्ने देखिन्छ । तर आर्थिक सुनिश्चितता नहुँदा समस्या छ’, उनको भनाइ छ ।