धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकास्थित एक सडक योजनाको म्याद सकिए पनि काम सम्पन्न हुन सकेको छैन । धनगढी–१५ को वडा कार्यालय उर्मा हुँदै वडा नम्बर १६ को रामपुरसम्म जाने कृषि सडक योजना अलपत्र परेको हो ।
निर्माण कम्पनीले काम अधुरै छोडेपछि १० किलोमिटर लामो उक्त सडक घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने अवस्थामा छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले बजरागुरु बी एण्ड बी जेभीलाई २०७९ जेठमा डेढ वर्षमा सक्ने गरी १० करोड ५२ लाख रुपैयाँमा कालोपत्रे गर्ने ठेक्का दिएको थियो ।धनगढी उपमहानगरपालिका–१६ का वडाध्यक्ष रामलाल चौधरीले भने, ‘सडक योजनाको काम अगाडि बढाउन निर्माण कम्पनीलाई पटक–पटक ताकेता गरियो । सम्बन्धित सरोकारवाला निकायसँग गुहार मागियो । तर सुनुवाइ नहुँदा वडावासीले हैरानी खेप्नु परेको छ ।सडक योजना र वडाभित्र पर्ने पुल, कल्भर्टको विषयलाई लिएर नगर प्रमुख, सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवासँग हालै छलफल गरेको उनले जानकारी दिए धनगढी उपमहानगरपालिकाको वडा नम्बर १६ धार्मिक, सांस्कृतिक र पर्यापर्यटनको गन्तव्य हो । तर निर्माण कम्पनीले समयमा काम नगर्दा निर्माणधीन सडकको अवस्था दयनीय बनेको छ भने थारु होम स्टे गाउँ भादामा पुग्ने पर्यटकसमेत सडककै कारण घटेका छन् ।
थारू होम स्टे गाउँ भादाको व्यवस्थापन समिति अध्यक्ष लक्ष्मीनारायण चौधरीले सडकको विषयलाई लिएर सरोकारवाला निकायलाई सुनाउँदा सुनाउँदा हैरान भएको बताए । उनले भने, ‘सडक, पुलको विषयमा मैले यहाँको मेयर, सांसद, मन्त्रीदेखि लिएर प्रधानमन्त्रीलाई समेत भनेको छु । तर सुनुवाइ नहुँदा दिक्क लागिसक्यो ।’
यसैबिच सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख इन्जिनियर हरि सुवेदीले सो सडक योजनाको ठेक्काको म्याद यही पुसमा सकिएको बताए । साथै भौतिक प्रगति ३५ प्रतिशतमात्रै भएको बताउँदै उनले म्याद थपका लागि निर्माण कम्पनीले निवेदन दिएको जानकारी दिए । तर म्याद भने अझै नथपिएको र आफूले पनि काम अगाडि बढाउन ताकेता गरिरहेको इन्जिनियर सुवेदीको भनाइ छ ।
निर्माण कम्पनीले उर्मामा दुईवटा कल्भर्ट निर्माण र केही ठाउँमा माटोमात्रै फिलिङ गरी अलपत्र छोडेको स्थानीयले बताएका छन् । वडा नम्बर १६ को प्रसिद्ध धार्मिकस्थल बेहाडा बाबामा दर्शन गर्न भारतीय र आन्तरिक पर्यटक नियमित रूपमा आउने गरेका छन् । बेहडाबाबा नजिकै रहेको महादेवा तालमा स्नान र बोटिङका लागि पर्यटक आउने गरेका थिए ।
सडककै कारण पर्यटक आगमन कम भएकाले महादेवा तालमा सञ्चालन गरिएको मोटरबोट नारायणी मोटरबोट कम्पनीले बन्द गरेको छ ।