पोखरेलको निधनप्रति नेपाली कांग्रेसद्वारा दुःख व्यक्त

समाचार शेयर गर्नुहोस्

काठमाडौँ ।  नेपालको प्रजातान्त्रिक आन्दोलनहरूमा महत्त्वपूर्ण योगदान दिएकी महिला नेतृ द्रौपदा शर्मा पोखरेलको निधनप्रति नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ । प्रजातन्त्र सेनानी एवं नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य स्व. गोवर्धन शर्मा पोखरेलकी धर्मपत्नी रहेकी पोखरेलको १०१ वर्षको उमेरमा मंगलबार बिहान काठमाडौँको सामाखुसी रानीबारी स्थित आफ्नै निवासमा निधन भएको थियो ।

वि.सं. २००७ सालको जनक्रान्तिको समयदेखि प्रजातन्त्र स्थापनाका लागि सक्रिय भूमिका निर्वाह गरेकी स्वर्गीय पोखरेल आफ्ना पति गोवर्धन शर्मा पोखरेलको सर्वश्वहरणपछि वि.सं. २०१८ सालको जनक्रान्तिमा संलग्न हुँदा उनलाई गिरफ्तार गरेर पैदल हिँडाई पोखरा हिरासतमा राखिएको थियो ।

नेपाली कांग्रेसको संगठन विस्तार, राणा शासन तथा पञ्चायती व्यवस्थाको अन्त्य र लोकतन्त्र प्राप्तिका लागि भएका हरेक संघर्षमा स्वर्गीय गोवर्धन शर्मा पोखरेल र उनकी धर्मपत्नीले पुर्‍याएको योगदान इतिहासमा सदा स्मरणीय रहने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् । स्वर्गीय द्रौपदा शर्मा पोखरेल— संविधान सभाका सदस्य रामचन्द्र पोखरेल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका पूर्व मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष जगदीशचन्द्र पोखरेल तथा युवा नेता एवं समाजसेवी सुवासचन्द्र पोखरेलको आमा हुन् ।उनको निधनबाट नेपाली कांग्रेसले एक अग्रज महिला नेतृलाई गुमाएको पार्टीको भनाई छ ।

उनको निधनप्रति नेपाली कांग्रेसका  सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पनि गहिरो दुःख व्यक्त गरेका छन् । नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा स्वर्गीय पोखरेलको परिवारजनले पुर्‍याएको योगदानको स्मरण गर्दै सभापति देउवाले द्रौपदा शर्मा पोखरेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै, दिवङ्गत आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको