रसुवा : उत्तरगया गाउँपालिका–१ मा १४ दशमलव ३ मेगावाट क्षमताको माथिल्लो मैलुङखोला जलविद्युत् आयोजनाले विद्युत उत्पादन सुरु गरेको छ । सानिमा ग्रुपअन्तर्गतको माथिल्लो मैलुङखोला जलविद्युत् लिमिटेडले प्रवर्द्धन गरेको आयोजनाले परीक्षण उत्पादन सुरु गरेको हो ।
‘हामीले परिक्षण उत्पादन हिजो गरेका छौं, आजबाट व्यवसायिक उत्पादन सुरु हुन्छ,’आयोजनाका जेनरल मेनेजर कागडा प्रसाइले भने । सबै संरचना निर्माणको काम सम्पन्न गरी उत्पादित विद्युत राष्ट्रिय प्रशारण लाइनमा जडान गरिएको छ । आयोजनाबाट उत्पादन भएको विद्युत त्रिशूली–३ बी हब सवस्टेसनमा जोडिने भएपनि हब निर्माणको काम नसकिएकाले हाल त्रिशुली थ्री ए को प्रशारण लाईनमा जडान गरी मातातीर्थसम्म पठाएको छ ।
मेनेजर प्रसाइले भने, ‘प्रारम्भमा २ अर्ब ५० लागत अनुमान गरिएकोमा कोभिड–१९ तथा राष्ट्रिय प्रशारण लाइन निर्माणमा भएको ढिलाइको कारण ०८० दसैं अगाडि प्रशारण हुन नसकेको हो ।’ हाल २ अर्ब ८० करोड रुपैयाँको लागत पुगेको छ । आयोजनाको काम ०७६ कार्तिकदेखि सुरु भएको थियो ।
अहिले परीक्षण उत्पादन समय सुरु भएको हो । अबको १५ दिनपछि नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद संझौता (पिपिए) अनुसार विद्युत बिक्री हुने प्रसाइले जानकारी दिए । कम्पनीले २८ वटा टावर निर्माण गरी थ्रि ए को हव शान्तिबजारमा जोडे पछि व्यवसायीय उत्पादन थालेको हो ।
कम्पनीले स्थानीयलाई तथा सर्वसाधारणलाई सेयर बाँडफाँड सम्पन्न गरिएको छ ।