काठमाण्डु – महानगरीय प्रहरी परिसर काठमाण्डुको हिरासत कक्षबाट थुनुवालाई भगाएर फरार रहेका प्रहरी १६ वर्षपछि पक्राउ परेका छन् ।
प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले तत्कालीन प्रहरी जवान विरवल राय यादवलाई पक्राउ गरिएको जानकारी दिए ।
लागूऔषध नियन्त्रण कानून कार्यान्वयन इकाई नयाँ बानेश्वरबाट पक्राउ भई लागूऔषध खैरो हेरोइन मुद्दाको अनुसन्धानको क्रममा महानगरीय प्रहरी परिसर काठमाण्डुको हिरासत कक्षमा रहेका प्रतिवादी भारत पूर्वी चम्पारन जिल्ला सिरसिया नुनयाडी ग्राम थाना रक्सौल ३९ वर्षीय असरफ आलमलाई प्रहरी जवान यादवले भगाएका थिए ।
२०६४ जेठ ९ गते प्रहरी जवान यादवले नक्कली चिट बनाई आफैंले फिल्ड अधिकृतको कीर्ते दस्तखत गरी ‘इन्सपेक्टर सा’पले बोलाउनुभएको छ’ भनी हिरासत कक्षबाट हत्कडी समेत लगाएर बाहिर निकाली भगाई फरार रहेका थिए ।
प्रहरीको विशेष अनुसन्धान टोलीले जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा नेपाल–भारत सिमानाको काकडभिट्टाबाट उनलाई पक्राउ प्रहरी परिसर काठमाण्डु पठाइएको र मुलुकी अपराध संहिता २०७४ को दफा १०२ अनुसारको कसूरको सजाय हुने व्यवस्था रहेको बताइएको छ ।