अमेरिकामा नाइट्रोजन ग्यासबाट मृत्युदण्ड दिएको कुरामा विवाद

समाचार शेयर गर्नुहोस्

न्यूयोर्क– अमेरिकाको अलाबामा राज्यमा बुधवार हत्याका दोषि ठहरिएका केनेथ यूजीन स्मिथलाई मृत्युदण्ड दिइएको छ ।

केनेथलाई नाइट्रोजन ग्यासको प्रयोग गरेर मृत्युदण्ड दिइएको हो । यो अमेरिकामै पहिलो पटक नाइट्रोजन ग्यासबाट दिइएको मृत्युदण्डको सजाय हो ।

यद्यपि, यो मृत्युदण्डको अमेरिकामा विवाद भइरहेको छ र मानवाधिकारवादीहरुले यसप्रकारको मृत्युदण्डको विरोध गरेका छन् ।

नाइट्रोजन ग्यासबाट दिइएको मृत्युदण्डमा केनेथ यूजीनलाई फेस मास्क लगाइएको थियो । जसै नाइट्रोजन ग्यास केनेथको फोक्सोसम्म पुग्यो, निस्सासिएर उनले तड्पिँदै प्राण त्यागे । केनेथलाई १९८८ मा एक पादरीकी श्रीमतीको हत्याको दोषी भएको पाइयो । पादरीले नै आफ्नी श्रीमती एलिजाबेथ सेनेटका हत्याको सुपारी केनेथ यूजीन र उनका साथी जोन पार्करलाई दिएका थिए ।

उक्त हत्या गरेबापत ती दुबैलाई हजार–हजार डलर प्राप्त भएको थियो । हत्याको एक हप्तापछि श्रीमतीको हत्या गर्न सुपारी दिने पादरीले आत्महत्या गरेका थिए । त्यस्तै जोन पार्करलाई सन २०१० मा विषयुक्त इन्जेक्शन दिएर मृत्युदण्ड दिइसकेको छ । सन् २०२२ मा केनेथलाई पनि बिषयुक्त इन्जेक्शन दिएर मार्ने कोशिश गरिएको थियो, तर हातको नसा स्पष्ट नदेखिएकाले त्यो बेला केनेथको ज्यान बचेको थियो ।

नाइट्रोजन ग्यासबाट मृत्युदण्ड दिँदा किन विवाद ?

फेस मास्कको माध्यमबाट नाइट्रोजन ग्यास जसै केनेथको फोक्सोको पम्पमा गयो, उनी छटपटाउन थाले । ग्यास छाड्ने र केनेथको मृत्युको सबै प्रक्रिया २२ मिनेटसम्म चल्यो । दुईदेखि चार मिनेटपछि केनेथले हात खुट्टा फ्याँक्न थाले र पाँच मिनेटपछि उनको सास भारी हुन थाल्यो । त्यसपछि उनको मृत्यु भयो । केनेथको मृत्युदण्डको समयमा उनकी श्रीमती र आफन्त पनि सहभागि थिए । त्यसबाहेक केहि सञ्चारकर्मीले पनि केनेथको मृत्युदण्ड हेरेका थिए । एक सञ्चारकर्मीका अनुसार मृत्युदण्ड दिनु अगाडि केनेथले ‘आज अलबामाका कारणले मानवता लज्जित भएको छ’ भनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको