श्री ३ को आदेशमा सुब्बाले फैसला सुनाए- दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालाल श्रेष्ठलाई ज्यान सजाय र अंश सर्वस्वहरण गर्ने, चन्द्रमानलाई जन्मकैद र अंश सर्वस्व हरण गर्ने।
डा. झलक गौतम
मेरो चिता त्यो ठाउँमा बनोस्, जहाँ गंगालाल र दशरथ चन्दलाई गोली हानी मारियो।
चन्द्रमान सैंजू जिउँदो छँदा त शहीदहरू गंगालाल, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीलाई सम्झिरहन्थे नै मृत्युपछि पनि उनीहरूसँग नजिक हुन चाहन्थे। झन युवावस्थामा त उनीहरूसँगै दुःखसुख बाँडचुड गरे। सँगसँगै यातना पनि सहे।
१९९७ सालमा चार जनासँगै उनलाई मृत्युदण्ड दिन खोजिएको थियो। तर उनले जुद्ध शमशेरलाई मार्ने योजनाबारे साँचो कुरा बोलेको भनेर जोगाइयो। उनले राजा त्रिभुवनलाई जोगाउँन सबै दोष आफ्नै टाउँकोमा लिएका थिए।
चन्द्रमान पेशाले स्वास्थ्यकर्मी थिए। उनी स्वास्थ्य संस्थामा रहेर बिरामीको उपचार र स्वास्थ्य सल्लाह दिने विषयमा मात्र सीमित रहेनन्। आफ्नो घोषित पेशागत सिमालाई तोडेर राजनीतिक र सामाजिक परिवर्तनको अभियानमा पनि होमिए।
उनका बुवा आयुर्वेदिक पद्धतिबाट उपचार गर्ने वैध थिए। जसले गर्दा पुर्ख्यौली थलो भक्तपुर भए पनि उनको परिवार काठमाडौंको क्षेत्रपाटीमा बसाइ सरेको थियो।
चन्द्रमानले बुवाबाट परम्परागत चिकित्सा पद्धति त सिकेका थिए नै आधुनिक चिकित्सा पद्धतिबारे पनि जानकार थिए। जसले गर्दा उनले राजा त्रिभुवनको स्वास्थ्य सहायक (कम्पाउन्डर) बन्ने मौका पाएका थिए।
त्यो जहानियाँ निरंकुस राणा शासनको वेला थियो। राणा शासनको अत्याचारमा जनता मात्रै होइन, राजा पनि परिरहेका थिए। त्यहि वेला १९९३ जेठ २० मा टंकप्रसाद आचार्यको नेतृत्वमा दशरथ चन्द, रामहरी शर्मा, धर्मभक्त माथेमा र जीवराज शर्मा मिलेर नेपाल प्रजा परिषद् स्थापना गरे। जसको छैटौं सदस्य थिए, कम्पाउन्डर चन्द्रमान।
त्यतिवेला चन्द्रमान प्रजा परिषद् र राजा त्रिभुवनबीच सम्पर्क स्थापित गर्ने सेतु बनेका थिए। यससँगै उनी सबै प्रकारको शोषनलाई अन्त्य गर्ने, मौलिक हक अधिकार स्थापना गर्ने, वर्गहीन समाजको स्थापना गर्ने र श्री ५ को वैधानिक नायकत्वमा प्रजातन्त्रिक सरकार गठन गर्ने उद्देश्यसँग सहमत भएर शोमा भगवतीको सामुन्ने भद्रमतीको पवित्र जलको कसम खाएर राणा विरोधी अभियानमा लागेका थिए।
१९९३ भदौमा राजा त्रिभुवन र चन्द्रमान सहित युवाबीच अति गोप्य सहमति बन्यो। त्रिभुवनको नेतृत्वमा तत्कालीन युवराज महेन्द्र र कम्पाउन्डर चन्द्रमानसहित १० जनाले गुहेश्वरी र पशुपतीलाई साक्षी राखी धर्म भकाई ‘रक्तपात मण्डल’ गठन भयो। यसमा रहेका व्यक्तिलाई तालिम दिएर शस्त्र सज्जित दल बनाएको थियो।
यसको उद्देश्य सत्ता हातमा लिने थियो। त्यसका लागि कोतपर्वमा जस्तै नारायणहिटीको भोजमा प्रधानमन्त्री जुद्ध शमशेर लगायतलाई बोलाई हत्या गर्ने योजना थियो तर सफल हुन सकेन। बरू यो योजनाको पोल खुल्यो।
त्यसमा सोधखोज भयो। चन्द्रमानमाथि पनि शंका गरियो। १९९७ कातिक ४ मा चन्द्रमानलाई गिरफ्तार गरेर हाल रेडियो नेपाल रहेको बंगलामा राखियो।
उनलाई बाँसमा झुण्डाएर निर्मम रुपमा कोर्रा प्रहार गर्दै यातना दिएर बयान लिइयो। चरम यातनाका कारण चन्द्रमानले त्यस योजनाको दोष आफूले लिए। राजा त्रिभुवन लगायतका विषयमा मुख खोलेनन्।
त्यसपछि श्री ३ को आदेशमा सुब्बाले फैसला सुनाए- दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालाल श्रेष्ठलाई ज्यान सजाय र अंश सर्वस्वहरण गर्ने। चन्द्रमानलाई जन्मकैद र अंश सर्वस्व हरण गर्ने।
उनका सहकर्मी रामहरी शर्माका अनुसार, कम्पाउन्डर चन्द्रमानलाई पकनाजोल सल्लाघारीमा झुण्ड्याएर मृत्युदण्ड दिने निर्णय भएको थियो तर गोप्य राखिएको थियो। नारायणहिटी योजनाबारे साँचो कुरा बोलेकाले चन्द्रमान मृत्युदण्डको सजायबाट मुक्त भएका थिए। जन्मकैद र सर्वस्व हरणको सजाय भने भाग्नुपर्यो। त्यतिवेला सर्वस्व हरण भनेको अगेनाको खरानीपानी समेत नराखेर सबै श्रीसम्पत्ति लैजाने चलन हो।
जेलभित्र रहँदा गणेशमान सिंहसँग उनको योजना मिल्यो, जेल तोडी बाहिर निस्किने। गणेशमान जेलको पर्खाल नाघेर बाहिर निस्के। तर चन्द्रमान मोटो शरीरका भएकाले अंकुशेका सहायताले पर्खाल नाघ्न सकेनन् र भुइमा पछारिए। त्यसपछि उनलाई समातेर हातगोडामा नेल, गलामा सिक्री लगाएर गोलघरमा राखियो। जनु नरक कुण्ड थियो।
जेलमा बसेकै स्थानमा दिसापिसाब गराइन्थ्यो। कमसेकम दिसापिसाब अलग स्थानमा गर्न पाउँ भनेर चन्द्रमान अनसनमा बसे। माग सुनुवाइ भए पछि आठौं दिनमा अनशन तोडेका थिए।
चन्द्रमानका समकालिन रामहरी शर्मा राजा त्रिभुवनबाट नेपाल प्रजा परिषद्का लागि आर्थिक सहयोग अनुदान दिलाउन चन्द्रमानले भूमिका निर्वाह गरेको बताउँछन्। जतिसुकै यातना सहेर पनि प्रजा परिषद्मा राजा त्रिभुवनको संलग्नता भएको भेद नखोलेको र भद्रगोल जेलबाट गणेशमानलाई भगाउन सहयोग गरेको रामहरीले उल्लेख गरेका छन्।
यसरी चन्द्रमानले नेपालको राजनीतिक परिवर्तनको लागि ज्यानको पर्वाह नगरी काम गरे। उनले जीवनको उत्तराद्र्धमा केही सम्मान, विभूषण र सहायता पनि प्राप्त गरेका थिए। दमको व्यथाको कारण ७८ वर्षको उमेरमा २०४० चैत १६ गते वीर अस्पतालमा अन्तिम सास लिए।
अन्तिम सास लिनुअघि चन्द्रमानले एउटा इच्छा सुनाएका थिए। जसमा उनले भनेका थिए, ‘मेरो चिता त्यो ठाउँमा बनोस्, जहाँ गंगालाल र दशरथ चन्दलाई गोली हानी मारियो।’
अहिले शहीद सप्ताह चलिरहेको छ। सबैले शहीदको स्मरण गरिरहेका छन्। वीर योद्धा चन्द्रमान सैंजूलाई श्रद्धाञ्जली!