पोखरा- पोखरा महानगरपालिका- १९ ले बाँदर आतंक बढी भएको भन्दै ‘म मेरो रुख काट्छु’ अभियान सञ्चालन गर्ने भएको छ। वडाले रुख काटेर अभियानमा सहयोग गर्न वडाबासीलाई अनुरोध गरेको छ।
तर नगरपालिकाले भने कुनै निर्णय नभएको भन्दै रुख नकाट्न आग्रह गरेको छ।
वडाध्यक्ष पुषपेन्द्र पाण्डेले जारी गरेको सूचनामा भनिएको छ, ‘…साविकको लामाचौर पुरनचौर क्षेत्र बाँदरबाट अति प्रभावित क्षेत्र भएको र हाल प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को निति तथा कार्यक्रममा समेत बाँदर नियन्त्रणसम्बन्धि नीति पास गरेको हुँदा आजको मितिले १० दिनभित्र ‘म मेरो रुख काट्छु’ भन्ने अभियान सञ्चालन गरी आ-आफ्नो घर वरपर रहेको रुख कटान गरी प्रदेश सरकारको निति तथा कार्यक्रमलाई सहयोग पुर्याउनुको साथै आ-आफ्नो घर क्षेत्रमा बाँदर नियन्त्रणमा सहयोग पुर्याउनको लागि वडा कार्यालयको तर्फबाट सम्पूर्ण वडावासीको लागि यो सूचना प्रकाशित गरिन्छ।’