जनकपुरधाम- जनकपुरधाममा बिहीबादेखि पाँच दिवसीय जनकपुरधाम साहित्य, कला तथा अन्तर्राराष्ट्रिय नाट्य महोत्सवको आयोजना हुन लागेको छ।
मैथिली भाषा, संस्कृति, कलालगायतका विषयवस्तुको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागेको मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले बताए।
बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै चौधरीले बिहीबारदेखि पाँच दिनसम्म विभिन्न विषयमा विमर्श हुनुका साथै सांस्कृतिक झाँकी, मिथिला चित्रकला कार्यशाला तथा प्रदर्शनी, बहुभाषिक नाटक, मिथिला भोजन तथा पुस्तक प्रदर्शनी, स्कुल स्तरीय वकतृत्वकला प्रतियोगितालगायत सांस्कृतिक कार्यक्रमको आयोजना हुने जानकारी दिए।
महोत्सव मैथिली विकास कोष, मधेस सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको आयोजना र जनकपुरधाम उपमहानगरपालिकाको सह आयोजनामा जनकपुरधाम स्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा हुन लागेको हो।
बिहीबारदेखि सोमबारसम्म चल्ने महोत्सवको उद्घाटन पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र समापन मधेस सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले गर्ने अध्यक्ष चाैधरीले जानकारी दिए।
महोत्सवको क्रममा ‘नव घर उठय पुरान घर …?’, ‘सामाजिक सञ्जाल की जञ्जाल…?’, ‘मिथिला मधेश उर्वर की जर्जर…?’, ‘भाषा एक नाम अनेक’, ‘मिथिलामे सिमान्त’ लगायतको विषयमा विमर्श हुने उनकाे भनाइ छ।
महोत्सवमा कुल खर्च ५२ लाख हुने अनुमान रहेकोमा २० लाख मन्त्रालयले र ८ लाख उपमहानगर तथा बाँकी रकमको व्यस्था कोषले गर्ने जनाइएकाे छ।
महोत्सवमा नेपाल तथा भारतका एकसय भन्दा बढी वक्ता तथा कलाकारहरू सहभागी हुनेछन्।
कोषले यसअघि २०७३, २०७५ र २०७८ सालमा महोत्सवको आयोजना गरेको थियो।