मंगलाघाटमा झोलुङ्गे पुल निर्माण सुरु

समाचार शेयर गर्नुहोस्

म्याग्दी, माघ १७ गते ।

म्याग्दीको बेनी नगरपालिका –७ मंगलाघाटमा पुरानै स्वरुपमा झोलुङ्गे पुल निर्माण गरिने भएको छ । वि.सं १९४४ मा स्थानीय प्रविधि र स्रोत साधनको प्रयोगगरी म्याग्दी खोलामा बनाइएको झोलुङ्गे पुल जिर्ण र पुरानो भएपछि नयाँ पुल निर्माण गर्न थालिएको हो ।

पुरानो पुलको मौलिकता, पहिचान र ऐतिहासिकता जोगाउन नयाँ बन्ने पुलमा पुरानै पुलको साङ्ले लठ्ठा प्रयोग गरिने भएको छ ।  संघीय सरकारको क्षेत्रगत झोलुङ्गे पुल सहयोग कार्यक्रम र बेनी नगरपालिकाको संयुक्त लगानीमा झोलुङ्गे पुल निर्माण थालिएको हो । कुल लागतको ८५ प्रतिशत संघीय सरकार, १३ प्रतिशत नगरपालिका र दुई प्रतिशत स्थानीय उपभोक्ताको जनश्रमदान गरी ३४ लाख ९८ हजार ६ सय ३७ रुपियाँमा झोलुङ्गे पुल निर्माण गर्न लागिएको बेनी नगरपालिका –७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

मंगलाघाट र बेनी नगरपालिका –२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा बनाइएको एकसय ३६ वर्ष पुरानो पुल हाल जीर्ण थियो । पुरानो स्वरुप र ढाँचालाई सकभर कायम राख्नेगरी नयाँ पुल निर्माण थालिएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘एकसय ३६ वर्ष पुरानो पुल जीर्ण भएपछि त्यस ठाउँमा नयाँ पुल निर्माण सुरु गरेका छौं । सो पुल तत्कालीन समयमा स्थानीय सीप र प्रविधिको प्रयोग गरेर बनाएको ऐतिहासिक पुल थियो । प्राविधिक विषय भएकाले पुरानै स्वरुपमा बनाउन नसके पनि ऊ बेला प्रयोग भएको लठ्ठालाई नै प्रयोग गरेर नयाँ पुल बनाउन थालेका छौं ।’’

उहाँका अनुसार तत्कालीन समयमा बागलुङ गलकोटका समाजसेवी लालप्रसाद शेरचनले लुकुरवनको काँचो फलाम र म्याग्दीको रुमगाउँका स्थानीयवासीको सीपलाई प्रयोगगरी निर्माण गरेको सो पुल यस क्षेत्रकै पहिलो हो । तत्कालीन समयमा काँचो फलामलाई गोलमा तताएर कुटेर साङ्ले लठ्ठा बनाएर पुल निर्माण गरिएको थियो ।

तत्कालीन समयमा दुईवटा साङ्ले लठ्ठामा फलामको पाता राखेर एउटा काठको फल्याक मात्र राखेर वारपार गर्ने झोलुङ्गे बनाइएको थियो । विसं २०१४ मा बाबियाचौरमा बसोबास गर्ने पुलका निर्माणकर्ता शेरचनका नाती भीमप्रसाद शेरचनका दाजुभाइको पहलमा हालको झोलुङ्गे पुलको रूपमा विकास गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लाकै पुरानो र स्थानीय स्रोत साधनलाई प्रयोग गरी बनाइएको पुल जीर्ण बनेपछि पाँच वर्षअघि बेनी नगरपालिकाको पहलमा सामान्य मर्मत गरिए पनि  पुल जीर्ण हुँदा आवत–जावतमा समस्या भएपछि नयाँ पुल निर्माण थालिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

उपभोक्ता समितिमार्फत निर्माण गरिने सो पुल चालु आर्थिक वर्षको असार मसान्तसम्म सम्पन्न गरिने पुल निर्माणमा सामाजिक र प्राविधिक सहयोग गर्ने संस्था मिलन म्याग्दीका अध्यक्ष दिलमाया विटालुले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *