काभ्रे । काभ्रेको पनौतीबाट साढे २ क्विन्टल लागुऔषध गाँजासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पनौतीबाट २८५ किलो लागुऔषध गाँजासहित ३ जनालाई पक्राउ गरिएको हो ।
सोमबार बिहान ८ः ३० बजेको समयमा पनौती नगरपालिका–५ आईटि पार्कस्थित पनौती बनेपा सडक खण्डमा सवारी चेकजाँच गर्ने क्रममा सो परिमाणको गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । पनौतीबाट बनेपातर्फ जाँदै गरेको बा ६ च २९६ नम्बरको डिआई गाडीमा चेकजाँच गर्दा भर्खर काटेको जस्तो हरियो देखिने अप्रशोधित गाँजा प्लाष्टिकका ७३ वटा बोरामा फेला पारिएको हो ।
प्रहरीले सो परिमाणको गाँजासहित नुवाकोट विदुर–११ घर भई हाल काठमाडौँ बालाजु डेरा गरी बस्ने वर्ष ३५ को बुद्धमान तामाङ, रामेछापको रामेछाप– ८ घर भई हाल काठमाडौँ बालाजु डेरा गरी बस्ने वर्ष २० को सञ्जिव तामाङ र सोही स्थान बस्ने वर्ष ५३ कि विमला तामाङलाई पक्राउ गरिएको हो ।
पक्राउ गरिएको उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाई छ ।