भक्तपुर- अरनिको राजमार्ग खण्ड अन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर लामो सडक ६ लेन विस्तारको काम सुस्ताएको छ।
भक्तपुरको सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्मको सडक खण्ड विस्तार ३६ महिनाभित्र सम्पन्न गर्न छुट्टाछुट्टै दुई चरणमा सडक विस्तार सुरु गरिएको एक वर्ष बितिसक्दा करिब २० प्रतिशतमात्रै प्रगति भएको आयोजनाले जनाएको छ।
विसं २०७९ पुस २४ गते आशिषकुमार श्रेष्ठ वन्दना भगवती जेभी र लामा कन्स्ट्रक्सन कम्पनी प्रालिले दुई खण्डमा गरी तीन वर्षभित्र सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेका थिए।
सडक विस्तार गर्न सात दशमलव पाँच किमी लामो सूर्यविनायक–साँगा सडकखण्डका लागि रु तीन अर्ब ८८ करोड ९३ लाख र साँगा–धुलिखेल आठ दशमलव चार किमी सडकखण्ड विस्तारका लागि रु चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का सम्झौता भएको थियो।
सूर्यविनायक–धुलिखेल, सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयका अनुसार धुलिखेलसम्मको मुख्य सडक र सर्भिस लेन गरी छ लेनको सडक विस्तार बजेट अभावका कारणले सुस्ताएको आयोजनाको भनाइ छ।
सडक विस्तारका क्रममा रहेका अस्थायी घरटहरा र संरचना भक्तपुर जिल्ला प्रशासन कार्यालय र सूर्यविनायक नगरपालिकाको सहयोगमा भत्काउने काम भएको आयोजना प्रमुख राजेन्द्रप्रसाद दास बताउछन्।
अस्थायी तथा स्थायी संरचनाले सडक विस्तारमा अवरोध पुग्ने गरेकाले बीचबीचमा काम छाड्दै अगाडि बढ्नुपरेको र स्थायी संरचना हटाउनेबारेमा छिटो निर्णय गर्न सम्बन्धित मन्त्रालयमा पत्राचार गरिएको उनको भनाइ छ।
आयोजना प्रमुख दास भनछन्, “रु आठ अर्बभन्दा बढीको लागतमा ठेक्का सम्झौता भएको हो, तर यस वर्ष सरकारले रु ५४ करोड अर्थात् सात प्रतिशतमात्रै बजेट निकासा गरेको छ, यस्तो अवस्थामा काम गर्न गाह्रो हुन्छ, सरकारले निरन्तर बजेट पठाए काम तीव्रगतिमा हुन्छ।” बजेट माग गर्दै आयोजना प्रमुखलगायत कर्मचारी भौतिक पूर्वाधार मन्त्रालयदेखि अर्थ मन्त्रालयसम्म धाइरहेका र बजेट आउने आश्वासन भने आइरहेको बताइएको छ।
प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ सूर्यविनायकबाट साँगासम्मका अस्थायी संरचनाका साथै घरटहरा हटाउने काम भइरहेको बताउछिन्। सूर्यविनायक नगरपालिकाको समन्वयमा अस्थायी संरचना हटाउने काम भइरहेको र स्थायी संरचना हटाउन भने प्रतिवेदन र मूल्याङ्कनको प्रतिक्षामा रहेको उनको भनाइ छ।
स्थायी टहरा हटाउनेबारेमा जिम्मेवार निकायबाट प्रतिवेदन आउने र त्यस्ता संरचनाको मूल्याङ्कनसहितको मुआब्जा दिनेबारेमा निर्णय भएर प्रक्रिया अगाडि बढेपछि स्थायी संरचना पनि हटाइने भएको छ।
प्रजिअ श्रेष्ठ भनछन्, ‘यो सडकखण्डमा अस्थायी संरचना, घरटहरा ५३ वटा रहेको छ, त्यो हटाउने कार्य भएको छ। यो सडकमा ७८ वटा स्थायी संरचना छन्, त्यो हटाउन मूल्याङ्कनसहितको प्रतिवेदन आउन बाँकी छ, अहिले बजेट न्यून आएकाले सडक विस्तार सुस्ताएको छ, बजेट छिटो आएमा सडकको गाह्रो काम बर्खाअगाडि नै सकिन्छ।’
सडक निर्माणको अवस्था बुझ्न बागमती प्रदेशसभा सदस्य किरण थापासहितको टोलीसँग पटक–पटक सडकको अनुगमन गरिरहेको उनि बताउछन्।
बर्खा अगाडि नै जगातिबाट साँगासम्मको सडकखण्डअन्तर्गतका अप्ठ्यारो काम नसके सडक विस्तारमा कठिनाइ हुने भएकाले यसतर्फ आयोजना र सरकारले ध्यान दिनुपर्नेमा बागमती प्रदेश सभासदस्य थापा जोड दिन्छन्।
सूर्यविनायक नगरपालिकातर्फ सडक विस्तारको क्रममा कुनै समस्या आउँदा सूर्यविनायकबाट साँगासम्म नगरपालिकासहितको सहयोगमा समस्या समाधान गरेर अगाडि बढ्दै आएको उनि बताउछन्।
प्रदेशसभा सदस्य थापा भन्नछन्, ‘नगरपालिका र स्थानीयवासीबाट समस्या हुँदैन, आएका समस्या हामी सुल्झाउँछौँ, तर सरकारले बजेट नपठाएपछि आयोजनाको काम सुस्ताएको छ, बर्खा अगाडि नै अप्ठ्यारा ठाउँमा काम नसके समस्या आउँछ, त्यसैले छिटो काम गर्नु आवश्यक छ।’