२७ माघ, काठमाडौं । भारत भ्रमणमा रहेका यूवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू र भारतीय समकक्षी मन्त्री अनुराग सिंह ठाकुरबीच शनिबार भेटवार्ता भएको छ ।
भेटका क्रममा द्विपक्षीय सम्बन्ध र नेपालको खेल क्षेत्रको विकासका बारेमा छलफल भएको मन्त्री लिम्बुको सचिवालयले जनाएको छ ।
नेपाल र भारतबीच यूवा एक्सचेन्ज कार्यक्रमसम्बन्धी समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भइसके पनि कार्यक्रम सञ्चालन भएको छैन । दुई देशका मन्त्रीबीचको छलफलमा यो कार्यक्रमलाई अघि बढाउने विषयमा छलफल भएको छ ।
मन्त्री ठाकुरले नेपालको क्रिकेटको विकासका लागि पूर्वाधार निर्माणमा सहयोग गर्न भारत तत्पर रहेको समेत बताएका मन्त्री लिम्बुको सचिवालयले जनाएको छ । मन्त्री लिम्बुले नेपाल क्रिकेट संघ(क्यान) र राष्ट्रिय खेलकुद परिषद्समेतको सुझाव र सहभागितामा आगामी दिनमा भारतीय पक्षसंगको संवादलाई अघि बढाइने बताए ।
भारतको नयाँदिल्लीमा फेब्रुअरी ६ देखि ९ सम्म सञ्चालन भएको प्रथम बिमस्टेक एक्वाटिक्स च्याम्पियनसिप सहभागी मन्त्री लिम्बुले यस्ता खेलको माध्यमबाट देशहरुबीचको सम्बन्ध अझ मजबुत बनाउन मद्धत पुग्ने बताएका थिए ।
प्रतियोगितामा बिमस्टेकमा आवद्ध राष्ट्रहरु भारत, नेपाल, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमारका ४०० भन्दा बढी खेलाडी, व्यवस्थापक तथा खेल पदाधिकारीहरु सहभागी थिए ।