दोलखा, माघ २९ गते । सभा हलको उपयोग र आयआर्जनसमेत हुने उद्देश्यले दोलखाको भीमेश्वर नगरपालिका–३ मा निर्माण सुरु गरिएको सभा हलको करिब एक दशकपछि संरचना मात्र निर्माण भएको छ । ठेकेदारको लापरबाहीले दुई वर्षमै सम्पन्न हुनुपर्ने यो सभा हल करिब एक दशकपछि संरचना मात्र निर्माण सम्पन्न भए पनि अख्तियारमा ठेकेदारविरुद्ध मुद्दा परेकाले काम अगाडि बढ्न नसकेको सघन सहरी तथा भवन निर्माण आयोजना मन्थलीका साइट इन्चार्ज असिस्टेन्ट सब इन्जिनियर रामशरण न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार काम सम्पन्नको पत्र दिएपछि बल्ल अरू प्रक्रिया अघि बढेर फिनिसिङको टेन्डर आह्वान गर्ने तयारी भइरहेको छ । यो वर्ष विनियोजन भएको डेढ करोड रुपियाँ बजेट थन्किएर बसेको छ । ७३३.३५ वर्गमिटरमा चारतले भवनको वाल, प्लास्टर, ट्रसलगायतका फिनिसिङका काम थालिनुपर्ने हो तर काम अगाडि बढाउन मुद्दा बाधक भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना मन्थलीका अनुसार पहिलो चरणमा भवन संरचना निर्माणको मात्र ठेक्का भएको हो । यसको २०७० साल माघ २० गते रौताहा ओमबुद्ध सुन्दरी माई जेभीसँग एक करोड ६९ लाख २६ हजार रुपियाँमा सम्झौता भएको हो । सम्झौता अनुसार २०७३ साल माघ मसान्तमा भवन सम्पन्न गर्नुपर्ने जानकारी दिँदै सघन सहरी तथा भवन निर्माण आयोजना मन्थलीका साइड इन्चार्ज असिस्टेन्ट सब इन्जिनियर न्यौपानेले भन्नुभयो, “भूकम्पलगायतका कारण २०७६ साल फागुन ३० सम्म म्याद थप भएको थियो । पुनः कोरोना भाइरसका कारण काम सम्पन्न हुन नसकेको हो । गत असार मसान्तमा संरचनाको काम सम्पन्न भएको हो ।” दोलखा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष रामेश्वर मानन्धरका अनुसार गत २०६९ सालतिर सदरमुकाममा सारै खाँचो खट्किएको सभा हल निर्माण गर्ने सोच बन्यो । सहरी विकास तथा भवन विभागको ५० प्रतिशत र तत्कालीन जिविस, नगरपालिका र दोलखा उद्योग वाणिज्य सङ्घको ५० प्रतिशत साझेदारीमा सभा हल बनाउने तय भएकोमा पछि अरूको बजेट नभएपछि भवन विभागले हल निर्माण सुरु गरेको हो ।