काठमाडौं। नेपाल-भारत व्यापार सम्मेलन काठमाडौंमा सुरु भएको छ । सोमबार सुरु गरिएको उक्त कार्यक्रममा नेपाल र भारतका लगानीकर्ता र व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको छ ।
कार्यक्रममा बोल्दै सिस्टर निभेडिटा युनिर्भसिटीका चियरमेन सत्यम राय चौधरीले नेपालमा आफूले राम्रो पर्यटनको सम्भावना देखेको बताएका छन् ।
‘नेपालमा पर्यटन क्षेत्रमा लगानीको राम्रो वातावरण छ, नेपाल पर्यटकहरुको लागि आकर्षकको गन्तव्य हो’, उनले भने ‘आजको कार्यक्रमले नेपाल भारतको सुदृढ आर्थिक सम्बन्ध विस्तार गर्न सकिन्छ ।’
आफ्नो भनाई राख्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले कार्यक्रममार्फत् दुई देशका व्यवसायी र लगानीकर्ताहरुकोलागि विजनेस आइडिया सेयर गर्ने सुनौलो मौका पाएको बताए । उनले यस कार्यक्रम आयोजना गरेकोमा आइसीसीलाई धन्यवादसमेत दिएका छन् । कार्यक्रममा बोल्दै अध्यक्ष ढकाल भन्छन्, ‘नेपाल लगानीकर्ताको लागि उत्कृष्ट स्थल हो । यहाँ पर्याप्त सम्भावनाका अवसरहरु छन् ।’
नेपालका पर्यटकीय क्षेत्रहरुमा लगानी गर्न भारतीय लगानीकर्ताहरुलाई उनले अपिल गरेका छन् । उनले एफएनसीसीआई नेपाल र भारतको आर्थिक सम्बन्ध विस्तारकोलागिसधै तयार रहेको बताए ।
अध्यक्ष ढकालको भनाईमा सहमत जनाउँदै अर्थमन्त्री डा. प्रकाश शरण महतले नेपालमा सुरक्षित लगानीको वातावरण रहेको बताए । उनले दुईदेशबिचको व्यापार सम्भावनाका विषयमा अन्तरक्रिया गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले नेपाल भौगोलिक रुपमा सानो देश भएता पनि यहाँ व्यावसायिक सम्भावना प्रचुर रहेको बताए । ‘नेपाल सानो देश हो तर यहाँ सम्भावनाका प्रचुर अवसरहरु छन्’, उनले भने ‘नेपालमा शिक्षा, स्वास्थ्य, पर्यटन र हाइड्रोपावरमा लगानीको राम्रो वातावरण छ ।’
उनले विद्युत निर्यातमा नेपाल भारतको सम्बन्ध राम्रो रहेको पनि बताए ।
उनले कार्यक्रममार्फत् देशमा लगानी भित्रिने र दुईदेशको आर्थिक सम्बन्ध थप सल्बलाउनेमा आफू विश्वस्त रहेको बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, अर्थमन्त्री प्रकाश शरण महत, भारत चेम्बर अफ कमर्सका अध्यक्ष अमेय प्रभु, आइसीसी नेसनल हेल्थकेयर कमिटीका एमडी तथा चारनक हस्पिटल इन्डियाका चियरमेन प्रशान्त शर्मा, सिस्टर निभेडिटा युनिर्भसिटीका चियरमेन सत्यम राय चौधरी लगायत नेपाल तथा भारतका लगानीकर्ता र व्यवसायीहरको उपस्थिती रहेको थियो ।