प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
साउदी अरेबियाको जेदाहमा भइरहेको प्रतियोगितामा मंगलबार जापानिज क्लब उरावा रेड डायमण्डलाई ३–० ले पराजित गर्दै सिटीले फाइनलमा स्थान बनाएको हो ।
जेहास्थित किङ अब्दुलल्ह स्पोर्ट्स सिटीका भएको खेलको पहिलो हाफमा मारिउस होइब्रातेनले आत्मघाती गोल गरेपछि सिटीले अग्रता लिएको थियो ।
दोस्रो हाफमा सिटीले दुई गोल थप्यो । माटेओ कोभासिसले ५२औं र बर्नार्डो शिल्भाले ५९औं मिनेटमा गोल गरे ।
सिटीले उपाधिका लागि दक्षिण अमेरिकी महादेशको च्याम्पियन फ्लुमिनेन्ससँग आउने शुक्रबार खेल्नेछ ।
ब्राजिलियन फ्लुमिनेन्सले पहिलो सेमिफाइनलमा अल अहलीलाई २-० ले हराएर फाइनलमा स्थान बनाइसकेको छ ।
पहिलो क्लब बक्लब विश्वकप खेलिरहेको सिटी यो उपाधि जित्ने चौथो इंग्लिस क्लब बन्ने अभियानमा छ । यसअघि इंग्ल्याण्डका म्यानचेष्टर युनाइटेड, चेल्सी र लिभरपुलले यो उपाधि जितेका छन् ।
यस्तै सिटीका म्यानेजर पेप ग्वार्डिओलाले यसअघि बार्सिलोना र बायर्न म्युनिखबाट फिफा क्लब विश्वकपको उपाधि जितिसकेका छन् र उनलाई तेस्रो फरक क्लबबबाट यो उपाधि जित्ने अवसर छ ।