काठमाडाैं, १५ असार
नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कृषि प्रधान देश भएकै कारण नाकाबन्दीले गलाउन नसकेको बताएका छन् ।
राष्ट्रिय धान दिवस मनाउन पत्नी राधिका शाक्यसँगै चितवन पुगेका ओलीले पाँच महिनाको नाकाबन्दीमा पनि नेपालको टिकिरहनुको कारण कृषि नै भएको बताए।
‘पाँच महिनाको नाकाबन्दीमा पनि नेपाल टिकिरहनुको कारण कृषि उत्पादन नै हो । हामी प्रायः बाहिरबाट सबै चिज ल्याउँछौँ, तर हामीलाई खान पुग्ने अन्न, सब्जी, माछा, मासु र दूध यही उत्पादन हुन्छ,’ उनले भने, ‘त्यसो हुनाले नाकाबन्दीले पनि हामीलाई गलाउन सकेन ।’
उत्पादनलाई प्रविधिसँग जोड्न जरुरी रहेको भन्दै उनले राष्ट्रिय अन्न धानको उत्पादन गुणात्मक किसिमले बृद्धि गर्नुपर्ने बताए। नेपालको ६० प्रतिशत भन्दा बढी जनसंख्या अहिले पनि कृषिमा आधारित रहेको उनले बताए।