कसैलाई केही फलिपाप भयो भने भनिन्छ, ‘खुदो पल्टियो’ । तर साँच्चिकै खुदो कसरी पल्टिन्छ ? नयाँ पुस्तालाई थाहा नहुन सक्छ ।
खुदो उखुको रसबाट बन्छ । उखु पेलेर निकालिएको रस पकाएर खुदो बनाउने चलन अहिले भने हराउँदै गएको छ । तर कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ३२ को मालेपाटन र ढोडबेसीँमा भने खुदो पकाउने चलन यद्यापि छ ।
पोखरा ३२ मालेपाटन र ढोडबेसीँमा कहिलेदेखि उखुखेती सुरु भयो भन्ने यकिन छैन । तर त्यहाँका करिव ८० परिवारले २ सय रोपनी जग्गामा उखुखेती गर्दै आएका छन् । त्यही उखु पेलेर बर्सेनि खुदो पकाएर बेच्छन् ।
पुस पन्” र माघे संक्रान्तिमा खुदो खाने चलन छ । अनदी चामलको लट्टे पहिला-पहिला खुदो हालेर गुलियो पारिन्थ्यो । माघे संक्रान्तिमा खुदो हालेर चिउरा खाइन्छ । त्यसैले यो मौसम उखु र खुदोको मौसम हो ।
उखु रोपेको करिब एक वर्षमा लाक्रा काट्न ठिक्क हुन्छ । लाक्रालाई पेलेर रस निकालिन्छ र त्यो रसलाई छानेर पकाइन्छ । उमालेको उमाल्यै गरेपछि रस बाक्लो हुँदै जान्छ र खुदो तयार हुन्छ ।
यहाँका किसानले केही वर्ष पहिलेसम्म कोलमा उखु पेल्थे । दाइँमा जस्तै गोरुले कोल घुमाइन्थ्यो । पोखरा महानगरले डेढ लाख रुपैयाँ सहयोग गरेपछि त्यसमा केही पैसा थपेर स्थानीयले बिजुलीबाट चल्ने कोल किनेका छन् । हिजोआज मेसिनले पेलेर निकालिएको उखुको रस दाउराको आगोमा पकाएर खुदो बनाउँछन् ।
पहिला पहिला ढोडबेसीँका किसानले उखुबाट तयार पारेको खुदो बिक्री गर्न समस्या थियो तर अहिले गाउँबाटै सबै खुदो बिक्री हुने गरेको स्थानीय काशी धमलाको भनाइ छ । उनले पहिला उखुको उत्पादन बढी हुने गरेको तर मूल्य नपाइने गरेको भएपनि अहिले उत्पादन कम भएको तर मूल्य राम्रो पाइरहेको बताए ।
प्रतिवर्ष कम्तीमा १५ हजार लिटर खुदो तयार हुने र यो वर्ष गाउँबाटै प्रतिलिटर ४ सय रुपैयाँका दरले बिक्री हुने गरेको स्थानीय किसान बताउँछन् ।
स्थानीय महादेवप्रसाद धमलाले पहिलाको तुलनामा भने उखुखेती र खुदो उत्पादन घटेको बताउँछन् । खुदो बनाउने प्रक्रिया झन्झटिलो हुने, युवा शक्ति विदेश जाने, नयाँ पुस्तामा खुदो बनाउने सिप हस्तान्तरण नहुने गरेकाले खुदो कम हुँदै गएको स्थानीयको भनाइ छ ।
रोपेपछि वर्षमा ३ पटक गोड्नुपर्ने उखुखेती परम्परा धान्न मात्रै गर्दै आएको स्थानीय किसान बताउँछन् ।