काठमाडाैं,१७ असार
आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि भएको प्लेअफ सेमिफाइनलमा नेपालले यूएईबाट १८२ रनको विजयलक्ष्य पाएको छ ।
हरारेस्थित ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएई ४६.५ ओभरमा १८१ रन बनाउँदै अल आउट भयो ।यूएईका लागि भ्रीत्या अर्भिन्दले सर्वाधिक ४४ रन बनाए । त्यस्तै रोहन मुस्ताफाले ३५, बसिद हमिदले २९, अर्यांश शर्माले २८ र सञ्चित शर्माले १२ रन बनाए । बाँकी ब्याट्मेनले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि सन्दिप लामिछाने र करण केसीले समान तीन/तीन विकेट लिए । त्यस्तै प्रतिश जीसी, गुल्सन झा र दिपेन्द्र सिंह ऐरीले एक/एक विकेट लिए ।
आजको खेलको विजेता टोलीले सातौँ स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने पराजित टोलीले नवौँ स्थानको लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछन् ।