काठमाडाैं, १९ असार
नेपालले लगातार तेस्रो पटक एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ। बायाेमास ओभल क्रिकेट मैदानमा मङ्गलबार घरेलु टोली मलेसियालाई दुई सय २१ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २५२ रन बनायो। नेपालका लािग नरेन भट्टले ८९ बलको सामना गर्दै ११२ रन बनाइ अविजित रहे। उनले १० चौका र २ छक्का प्रहार गरे। नेपालका लागि अर्का ब्याटर निरज कुमार यादवले ४७ रन बनाए। यस्तै सन्तोष यादवले २६ तथा सूर्यांशु कोइरालाले १८ रन जोडे।
मलेसियाका महम्मद अक्रमले सर्वाधिक ३ विकेट लिए भने अरिन अकिल, हजिक हैकल र महम्मद फथुल मुइनले १–१ विकेट लिए। २ सय ५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४औं ओभरमा ३१ रन बनाउँदै अलआउट भयो। मलेसियाका लागि मोहम्मल अक्रमको १० रन नै सर्वाधिक रहयो।
मलेसियालाई सस्तैमा समेटन नेपालका कप्तान अविशेक तिवारीले सर्वाधिक ५ विकेट लिए। यस्तै सन्तोष यादवले ३ विकेट लिँदा सागर गैरे र अशोक धामीले १/१ विकेट लिए।