आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा ओमानविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ । नेपालले दोस्रो विकेका रूपमा सन्दीप जोरालाई गुमाएको हो ।
उनी ६.१ ओभरमा ओमानका कप्तान जीशान मक्सूदको बलमा १० रनमा बोल्ड भए । नेपालले पहिलो विकेटका रूपमा विकेटकिपर आसिफ शेखलाई गुमाउन पुग्यो ।
उनी २.४ ओभरमा व्यक्तिगत ६ रनमा आउट भए । आसिफलाई बिलाल खानले क्याच आउट गराएका हुन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा नेपालले आज टस जितेर पहिला ब्याटिङ गरिरहेको हो ।
नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । नेपालले आज दीपेन्द्र सिंह ऐरीलाई विश्राम दिएर सन्दीप जोरालाई मौका दिएको हो ।
अब यी दुई टिम छनोट प्रतियोगिताको फाइनल पनि जित्दै सुखद अन्त्य गर्न चाहन्छन् । नेपाल समूह चरणमा तीनमध्ये दुईमा जित र एक खेलमा पराजय बेहोर्न पुग्यो । नेपालले ग्रुप स्टेजमा सिंगापुरलाई ८ तथा मलेसियालाई ६ विकेटले हराएको थियो ।
नेपाल समूह चरणको अन्तिम खेलमा भने ओमानसँग ५ रनले पराजित भयो । त्यसका बाबजुद नेपालले सेमिफाइनलमा यूएईविरुद्ध ८ विकेटको सानदार जित निकाल्दै दोस्रोपटक विश्वकपमा स्थान बनाउन सफल भयो ।
नेपाल छनोट प्रतियोगिताको फाइनलमा ओमानसँग समूह चरणको हारको बदला लिँदै ट्रफी घरमै राख्न चाहन्छ । ओमान भने अपराजित यात्रा कायमै राख्दै ट्रफी हात पार्ने दाउमा छ । उसले जारी प्रतियोगितामा चार खेल खेल्दा सबैमा जित निकालेको छ ।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हेड टु हेड हेर्दा ओमानमाथि नेपाल हाबी छ । हालसम्म नेपाल र ओमानले ५ टी–२० खेलमा एकअर्काको सामना गरेका छन् । जसमा नेपालले तीन र ओमानले दुई खेल जितेको छ ।