तातोपानी नाकामा आयातसँगै मानवीय गतिविधि बढ्यो

समाचार शेयर गर्नुहोस्

विनाशकारी भूकम्पको पाँच वर्षपछि खुलेको तातोपानी नाकामा व्यापारिक गतिविधि वर्षेनी सुधारोन्मुख रहेको पाइएको छ । दुई वर्ष कोरोनाले थला परेपनि हालको व्यापारिक अवस्था सन्तोषजनक रहेको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।गत सालभन्दा यो वर्ष आयात दर ५० प्रतिशतले बढेको छ ।  नाकामा मानवीय गतिविधिमा फेरबदल आएको छ । स्थानीय मात्रै होइन बाहिरका मानिस पनि व्यापार गर्न तातोपानी पुगेका छन् । नेपाल चेम्बर अफ कमर्स भोटेकोसीका अध्यक्ष फुनु शेर्पाले दैनिक २० भन्दा बढी चिनियाँ टेलरले लार्चा सुख्खा बन्दरगाहमा सामान ल्याउने गरेको बताए ।

भूकम्पले भत्केको घर मर्मत गरेर नयाँ होटेल र पसल सञ्चालन गरिएका छन् । मितेरीपुलपारि चिनियाँ क्षेत्रबाट घरायसी सामान, ब्ल्यांकेट र इलेक्ट्रोनिक सामग्री धमाधम ल्याउन थालिएको छ । चिनियाँ क्षेत्रमा नेपालीका लागि  नयाँनयाँ  पसल संचालन गरिँदैछन् । नेपालबाट पनि चिनियाँ क्षेत्रमा खाद्यान्न, हस्तकला  र घरायसी सामग्री निकासी हुन थालेको छ । चीनलाई ट्रान्जिट बनाएर नेपाल हुँदै तेस्रो मुलुकमा पनि सामान जान थालेका छन् । नेपाली बाटो भएर जापानमा चौधरी ग्रुपको चाउचाउ जान थालेको छ । नेपालबाट जापान र भियतनाममा सामान जाने तातोपानी भन्सारले जनाएको छ ।

हरेक शनिबार तातोपानीमा मानिसको भिडनै लाग्छ । घुम्न र तातोपानी धारा नुहाउन पुग्ने आन्तरिक पर्यटकले सीमाक्षेत्र भरिभराउ हुन्छ । सिन्धुपाल्चोकवासी बाहेकलाई चिनियाँ क्षेत्र प्रवेश अनुमति छैन । जिल्लाबाहिरका पर्यटकले मितेरीपुल पुगेर सामान किन्ने गरेका छन् । चिनियाँ क्षेत्रमा संचालन भएका होटेल र पसलमा केही सीमावासीले रोजगार पाएका छन् । चिनियाँ क्षेत्रमा दिनहुँ पुग्ने नेपालीले तिब्बतमुलका मानिससँग भेटेर व्यापार बढाउने विषयमा छलफल गरिरहेका छन् । तातोपानी भएर आउने चिनियाँ पर्यटक पनि दिनदिनै बढेको अध्यागमन कार्यालय कोदारीले जनाएको  छ ।

खासा नयाँ सहर बन्दै
भूकम्पले आंशिक क्षति गरेको खासा बजारलाई नयाँ सहरका रुपमा स्थापना गर्ने चीन सरकारको अभियान सुरु भएको छ। तिब्बत स्वशासित क्षेत्र तिब्बतको खासालाई चिनियाँहरु जाङ्मुपोर्ट भन्छन् । एक चिनियाँ अधिकारीले दिएको जानकारीअनुसार जाङ्मुपोर्ट अब नयाँ सहरका रुपमा उदाउने छ । खासा सहर स्थापना गर्न केही वर्ष लाग्नेछ । भर्खर घरहरु भत्काउन सुरु गरिएको ती अधिकारीले प्रष्ट्याए । नेपाल र चीनको सम्बन्ध पुरानो र गाढा रहेकोले तातोपानी नाकालाई आधुनिक र व्यवस्थित बनाउन चीन सरकार चाहन्छ । खासाभित्र तीन मिटर चौँडा सडक तयार हुँदैछ । नेपाली गाडी राख्ने पार्किङसहित ठूल्ठूला होटेल बन्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको