काठमाडौं । द्वन्दग्रस्त गाजामा नयाँ युद्धविरामका लागि अन्तराष्ट्रिय समुदायको पहलमा तयार पारिएको प्रस्तावमाथि हमासले आफ्नो प्रतिक्रिया जनाएको छ । अन्र्तराष्ट्रिय समुदायले तयार पारेको प्रतिवेदनमा हमासले सकारात्मक जवाफ फर्काएको बीबीसीले जनाएको छ ।
इजरायल, अमेरिका, कतार र इजिप्टले तयार पारेको सम्झौताको विवरणभने सार्वजनिक गरिएको छैन । समाचारमा जनाइए अनुसार ६ हप्ताका लागि युद्धविरामको प्रस्ताव गरिएको छ । युद्धविरामको समयमा दुवै पक्षले आफ्नो नियन्त्रणमा रहेका कैदीबन्दी साटासाट गर्नु पर्ने छ ।
इजरायल र अमेरिका दुवैले हमासको प्रतिक्रियामाथि समीक्षा गरिरहेको बताएका छन् ।
मध्यपूर्व भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आज यसबारे इजरायली अधिकारीसँग छलफल गर्ने बताएका छन् । युद्ध विरामका लागि पठाइएको प्रस्तावमा एक हप्तापछि हिजो मात्रै हमासले आफ्नो प्रतिक्रिया जनाएको हो ।