काठमाडौं । गत २४ घण्टामा भएको लगातारको वर्षाका कारण आएको बाढी पहिरोमा परी १५ जनाले ज्यान गुमाएका छन् ।
यस्तै १८ जना घाइते भएको नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार दुईजना अझै बेपत्ता छन् ।
प्रभावित घर परिवारहरूको उद्धार गर्ने, सुरक्षित स्थानमा सार्ने, उद्धार उपलब्ध गराउने काम भइरहेको उनले बताए । “ज्यान गुमाएकाको परिवारलाई राहत उपलब्ध गराउने काम पनि भइरहेकोछ,” उनले भने ।
यसैबीच मनसुन सुरु भएयता विभिन्न विपद्मा परी ६७ जनाले ज्यान गुमाएका छन् । यस्तै ८३ जना घाइते भएको प्रवक्ता कार्कीले बताए ।
यता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विपद्मा सरकार साथमा रहेको बताएका छन् । सिंहदरबारस्थित ‘कन्ट्रोल रुम’बाट देशभर गएको बाढी पहिरोको क्षतिबारे जानकारी लिएपछि प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
“विपद् व्यवस्थापनका लागि व्यवस्थित तयारी गरिएको छ । उच्च सतर्कता अपनाउन सम्पूर्ण रूपले मेहेनत गरेका छौँ । यस वर्ष विपद्बाट ठूलो क्षति हुनसक्ने अनुमान गरिएको छ, सोहीअनुसार रोकथाम र क्षति न्यूनीकरणका लागि राम्रो तयारी छ, जनताको जीउधनको रक्षाका निम्ति सम्पूर्ण तागत लगाऔँ,” प्रधानमन्त्री प्रचण्डले भने ।