आज जनैपूर्णिमा नेपालमा धुमधाम साथ मनाइँदै

समाचार शेयर गर्नुहोस्

काठमाडौं

श्रावण शुक्ल पूर्णिमा पुरोहितको हातबाट जनै फेर्ने, र दिदीबहिनीको हातबाट रक्षाबन्धन बाँध्ने दिनका रुपमा प्रचलित छ । नेवारी परम्परा अनुसार यस दिनमा क्वाँटी खाने चलन पनि छ । हिन्दु धर्ममा आस्था राख्नेहरूले यस विशेष दिनमा भान्जा, ज्वाइँ र ब्राह्मणले श्लोकबाट मन्त्र जप गरिएका जनै फेर्ने र सोही अनुसार रक्षाबन्धन बाँध्ने गरिन्छ । यस लेखमा विविध नेपाली चाडपर्वमध्ये अग्रपङ्क्तिमा पर्ने यो पर्व विशेष महत्वका साथ मनाउनुका धार्मिक, सामाजिक र वैज्ञानिक कारण सम्बन्धित चर्चा गर्दैछौ।

जनै फेर्ने चलनः

ब्राह्मण र क्षेत्रिय पुरुषहरूले हिन्दु परम्परा अनुसार यज्ञोपवित अर्थात जनै लगाउने चलन रहि आएको छ । बाल्यकाल बितेपछि विधिपूर्वक व्रतबन्ध कर्म गराइन्छ । पुरोहितले मन्त्रेको जनै ६ वटा काँचो धागो अर्थात् ६ सूते धागोलाई दुई बेग्लै गाँठो पारेर सबैलाई एक ठाउँमा राखेर तयार पारिन्छ । जसलाई वार्षिक रुपमा जनैपूर्णिमाको दिन फेर्ने चलन छ । जनैको लम्बाइ ९६ अंगुल हुन्छ । जनै धारण गर्ने व्यक्तिले ६४ कला र ३२ विद्या सिक्ने प्रयास गर्नुपर्ने हुन्छ । ६४ कलामा नृत्यकला, व्यञ्जनकला, चित्रकारिता, यन्त्र निर्माण आदि पर्दछन् । त्यस्तै ३२ विद्या चार वेद, चार उपवेद, ६ अंग, ६ दर्शन, तीन सूत्रग्रन्थ र नौ अरण्यक मिलेर बन्छन् । ब्राह्मण पुरोहितले मन्त्रेको जनैको डोरो हातको नाडीमा धारण गर्नाले सभिथा अर्थात सूर्य भगवानको प्रत्यक्ष ऊर्जा प्राप्त गर्ने र त्यसमा गायत्री मन्त्रको उच्चारणले शारीरीक, मानसिक र आध्यात्मिक सार्मथ्यको वृद्धि हुने बिश्वास छ । साथै यसलाई पवित्रता र सुरक्षाको बन्धन पनि मानिन्छ ।

रक्षाबन्धनको प्रचलनः

जनैपूर्णिमाको दिन दिदीवहिनीहरुले आफ्ना दाजू-भाइका दाहिने हातका नाडिमा दिर्घायू र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फूल जोडिएको रक्षाबन्धन/राखी बाँधेर, टिका लगाएर मिठाई खुवाउछन् । दाजुभाईले बहिनीलाई केही उपहार अथवा दक्षिणा पैसा दिन्छन् तथा दिदि बहिनीको रक्षा गर्ने वचन दिन्छन् । एक शास्त्रिय कथा अनुसार, यमदूतले आफ्नो बहिनी यमुनासँग राखी बांध्ने सन्दर्भमा ‘जसले यस पवित्रताको राखी बँधाउछ उ यमदूतको सजाय अथवा भयबाट मुक्त हुन सक्दछ’ प्रतिज्ञा दिएको हुन्छ । यसर्थ रक्षाबन्धन एक धार्मिक उत्सव पनि हो । जसको सम्बन्ध जीवनको श्रेष्ठता एवंम निडरतासँग छ ।

यसरी बाँधिएको धागो गाई तिहारका दिन निकालेर गाइको पुच्छरमा बेरीदिने चलन पनि छ । हिन्दु परम्परा अनुसार यसो गर्दा पूण्य प्राप्त हुने विश्वास छ ।

जनैपूर्णिमाको धार्मिक महत्वः

जनैपूर्णिमाको धार्मिक महत्व सत्ययुगसँग सम्बन्धित छ । सत्य युगमा दानवबाट पीडित देवगणको रक्षा गर्न गुरु बृहस्पतिले रक्षाबन्धन बाँधिदिएको सम्झनामा जनै पूर्णिमा मनाउन थालिएको हो भन्ने मान्यता रहिआएको छ ।

जनैपूर्णिमामा आधारित एक किंवदन्ती यस्तो छ- “सत्य युगमा देवराज इन्द्र र दैत्यराज वृतासुरका साथ १२ वर्षसम्म भीषण युद्ध चल्यो । अजंग शरीर भएका दैत्यहरूलाई हराउन सक्नु सामान्य कुरा थिएन । वर्षौँसम्म युद्ध चलिरह्यो । कयौं कोसिसका बाबजुदपनि इन्द्रले असुरहरूलाई पराजित गर्न सकेनन् । अन्ततः असुरहरूले देवताहरूमाथि विजय प्राप्त गरेरै छाडे । युद्धमा नमीठो हार बेहोरेका देवगण धर्म संस्कार विहीन भएर जीवनयापन गर्नु पर्यो । धर्ममा आस्था राख्ने देवराज इन्द्रलाई यस्तो जीवन सह्य भएन । यसरी बाँच्नु भन्दा मर्नु नै उपयुक्त विकल्प हुने ठानेर उनले अन्तिम युद्धको संकल्प गरे । श्रावण शुक्ल चतुर्दशीको दिन देवगुरु बृहस्पतिले इन्द्रको कल्याण र विजयको कामना गरे । भोलिपल्ट पूर्णिमाको शुभ मुहूर्त हेरि इन्द्रलाई रक्षाबन्धन बाँधेर वल प्रदान गरे । जसको प्रभावका कारण इन्द्रले युद्धमा दैत्यहरूलाई हराउन सफल भए ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको