झापा ।
गर्भिणी गाईको मासु खाएको आरोपमा ४ जना पक्राउ परेका छन् । झापामा गोठमा बाँधेर राखिएको २ महिनाको गर्भिणी गाई चोरी गरी काटेर खाएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दमकस्थित बेलडाँगी शिविरमा बस्दै आएका भुटानी शरणार्थीहरू प्रेमबहादुर बिष्ट, खगेन्द्र दुलाल, विधान थापाका साथै दमक नगरपालिका वडा नं ४ बस्ने गीता श्रेष्ठ रहेका छन् ।
गत भदौ १८ गते रातको समयमा झापा दमक नगरपालिका वडा नं. २ का लछुमन बिष्टको वडा नं १ स्थित पानी ट्याङकी गोठमा बाँधिएको गाई चोरी भएको थियो । उक्त गाई गोठदेखि करिब १०० मिटर पूर्वतर्फ रहेको खाली प्लटिङ जग्गामा लगी काटेर मासु लगेको भेटिएको थियो । घटनापछि उजुरीका आधारमा अनुसन्धानका क्रममा उनीहरूको संलग्नता देखिएपछि पक्राउ गरिएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।