काठमाडाैं,
नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बहुमतको स्थिर सरकार नभएका कारण निष्पक्ष छानबिन हुने कुरामा आशंका उब्जिएको बताएका छन् ।
काठमाडौंको नक्सालमा आयोजित भ्रष्टाचारविरुद्धको वृहद् नागरिक आन्दोलनमा सहभागी हुँदै उनले यस्ताे बताएका हुन्। उनले जनताले यसैगरी खबरदारी गरिरहे भ्रष्टाचारीहरु बच्न नसक्ने बताए ।
उनले भने, ‘आफू अपराधी छैन भने भाग्नु पर्दैन, भागेपछि बेठिक भयो । सडक, सदन र सरकारबाट नै नागरिकले खबरदारी गर्नुपर्छ । हामीले खबरदारी गरिरहे भ्रष्टहरु छुट्दैनन् । हामीले यो गर्नसके राजनीतिक शुद्धिकरण र सुशासनको दिशामा जान सकिन्छ । अहिलेको निर्वाचन प्रणालीले बहुमत हुन पुग्दैन, अस्थिर सरकार त्यसैले आफ्नो सरकार जोगाउनका लागि कार्यकारी प्रमुखले दह्राे सँग कदम चाल्न सक्दैन । आशंका छ । राज्यको शासकीय स्वरुप र निर्वाचन प्रणालीमा त्रुटी छ ।’