चितवन,जेठ ४ गते । आफु विशेष प्रहरी भन्दै व्यवसायीहरूलाई धम्क्याउने चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–५ का २२ वर्षीय खुमबहादुर थापा, राप्ती नगरपालिका–८ का १९ वर्षीय सच्चीन ज्ञवाली, रत्ननगर नगरपालिका–५ का २३ वर्षीय सञ्जीवकुमार मिश्र र खैरहनी नगरपालिका–१३ का २४ वर्षीय सुजन सिलवाल रहेका छन् ।
उनीहरुलाई खैरहनी नगरपालिका र भरतपुर महानगरपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।
आफु प्रहरी भन्दै सामाजीक सञ्जालमा कुरा गर्ने तथा व्यवसायीहरूलाई धम्क्याउनेे गरेकाे पाइएकाे उहाँले बताउनुभयाे । यस्तै भरतपुर महानगरपालिका–१२ मालपोत चोकको प्रिन्टिङ प्रेसमा कार्यरत थापाले नक्कली विशेष प्रहरीको परिचय पत्र बनाउने गरेको खुलेको छ । उनीहरुले केन्द्रीय अनुसन्धान ब्युरोको परिचयपत्र समेत बनाएको कार्यालयले जनाएको छ ।
पक्राउ परेका चारैजनालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको एसपी कार्कीले बताउनुभयो । उनीहरुलाई मुलुकी अपराध संहिताको लिखदसम्बन्धी कसुरमा म्याद थप गरिएको छ । याे मुद्दामा सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिबानाको व्यवस्था छ।