सर्पले डसेकाे बिरामीलाइ अस्पताल पुर्याउनुकाे साटाे प्रार्थना गर्न लगाउने महिला पक्राउ

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

सर्पले डसेको बिरामीलाई समयमै अस्पताल पुर्‍याउनुको साटो प्रार्थना गर्न लगाउने एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा बर्दियाको बासगढी नगरपालिका – २ बेतहनीकी ६० वर्षीया यमुना भनिने योगेन्द्रकुमारी घर्ती रहेकी छन्।

घर्ती सच्चाइ धर्मको ‘धर्म गुरू’ रहेको प्रहरीले जानकारी दिएको छ। बुधबार राति १ बजेतिर सुतिरहेको  समयमा बासगढी – ३ महादेवाकी १६ वर्षीया ओमकुमारी डाँगीलाई करेत सर्पले हातमा डसेको थियो। किशोरीका घर परिवारले ‘धर्म गुरू’ घर्तीलाई सर्पले डसेकोबारे बताएका थिए।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी हिक्मतबहादुर बोहोराका अनुसार ‘धर्म गुरू’ घर्तीले सर्पले डसेको कुरालाई सामान्य भन्दै अस्पताल लैजानु नपर्ने भन्दै प्रार्थना गरे ठिक हुने दाबीसहित त्यसै गर्न लगाएकी थिइन्।  सर्पले डसेकी घाइतेलाई प्रार्थना गर्न लगाएको कुरा आसपासका अन्य छिमेकीहरूले थाहा पाएपछि उनीहरूले तत्कालै अस्पताल लैजान सल्लाह दिएका थिए। त्यसपछि मात्रै परिवारले डाँगीलाई भेरी अस्पताल नेपालगंज बाँके पुर्‍याएका थिए।

आज बिहान पौने ९ बजेतिर अस्पताल पुर्‍याउना साथ डाँगीलाई चिकित्सकले मृत घोषणा गरेका थिए। डाँगीको मृत्युपछि ‘धर्म गुरू’ घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

सर्पले डसेकी बिरामीलाई सामान्य घटना भन्दै अस्पताल लैजान नदिई प्रार्थना गर्न लगाउने घर्तीलाई थुनामा राखेर घटना अनुसन्धान गर्न जिल्ला अदालबाट म्याद थप भइसकेको डिएसपी बोहोराले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको