काठमाडाैं,
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्यान्टोन्मेन्टमा भ्रष्टाचार नभएको दाबी गरेका छन्।
बिहीबार प्रतिनिधि सभामा जारी प्रश्नोत्तर कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले क्यान्टोनमेन्टमा भ्रष्टाचार देखिएको हल्ला निराधार भएको स्पष्ट पारेका हुन्।
‘क्यान्टोन्मेन्टको कुरा पूर्वाग्रही र कपोलकल्पित छ भन्ने मेरो दृढ विश्वास छ। फेरि पनि कसैले दिएको उजुरीकै आधारमा छानबिन गरेर दोषी ठहरिए म आफैं जेल जान तयार रहेको कुरा पनि म यहाँहरुलाई जानकारी गराउन चाहन्छु’, उनले भने । प्रधानमन्त्री प्रचण्डले अयोग्य लडाकुको नाममा व्यापक भ्रष्टाचार भयो भन्ने कुरा आरोपको लागि आरोप मात्रै भएको बताए।
उनले भने,’ त्यतिबेला प्रकाशशरण महत अर्थमन्त्री हुनुहुन्थ्यो । राज्यबाट दिइएको रकम अडिट भएर टुंगो लागिसकेको छ । यदि त्यस्तो केहि छानबिन गर्नुपर्छ भने पनि म तयार छु । २०४८ सालपछिका सबै मुद्दामा छानबिन गर्न म तयार छुँ ।’