काठमाडाैं
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा अखण्ड भारतको विषय उठाउन माग गरेको छ।
रास्वपा महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले बुधबार विज्ञप्ति जारी गर्दै नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डता र स्वाधीनतासँग प्रतिकूल हुने कुनै पनि कदम आफूहरूलाई स्वीकार्य नहुने उल्लेख गरेका छन् ।
‘भारतको नयाँ संसद् भवनमा काठमा कुँदिएको ‘अखण्ड भारत’ नामक नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु पनि रहेको भन्ने विभिन्न सञ्चारमाध्यबाट सार्वजनिक भएको समाचारप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर ध्यानार्कषण भएको छ,’ रास्वपाको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतासँग प्रतिकूल हुने कुनै पनि कदम राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्वीकार्य छैन । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको क्रममा यो विषय उठान गरी जनता समक्ष यसको सत्यतथ्य सार्वजनिक गर्न हामी जोडदार माग गर्दछौँ ।’