२६ जेठ, काठमाडाैं
गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेशमा नामकरणको विषयमा देखिएको असन्तुष्टिलाई राजनीतिक ढंगबाटै समाधान गर्नसमेत सबैलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले राजनीतिक मुद्दालाई संविधान, कानूनको क्षेत्राधिकारभित्र रहेर राजनीतिक ढंगबाटै समाधानको बाटो खोज्न आग्रह गरेका हुन्।
कोशी प्रदेश नामकरणको विषयमा बिहीबार प्रदेशसभाका उपसभामुख र मन्त्रीहरू चढेका गाडीमाथि नै आक्रमण भइरहेको विषयमा नेकपा एमालेका सांसदहरूले प्रश्न उठाएपछि त्यसबारे जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले सरकारले संविधान र कानुनलाई हातमा लिने, अराजक गतिविधि गर्ने र समाजमा उदण्ड मच्चाउने सबैलाई कानुनी दायरामा ल्याउने बताए ।
यस्तै उनले सरकारले उपसभामुख, मन्त्री वा सांसदहरूलाई मात्रै नभएर सबै नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन प्रयासरत रहेको बताए ।
उनले भने ‘हामी लोकतान्त्रिक राज्यको अभ्यास गरिरहेका छौँ । लोकतन्त्रमा सबैलाई दृष्टिकोण राख्ने, गतिविधि गर्ने स्वतन्त्रता छ, तर त्यो संविधान, लोकतन्त्र र तिनले प्रत्याभूत गरेको विधिअनुरूप हुनुपर्छ । अन्यथा त्यसको रक्षा गर्न सरकार प्रतिबद्ध छ,कोशी प्रदेशमा आन्दोलनरत पहिचानवादी साथीहरूलाई मेरो आग्रह छ, तपाईंहरूले ठीक ढंगले विषयवस्तुलाई पक्रन नसक्दा कतै संघीयतालाई नै नचाहनेहरूलाई बल नपुगोस् ।’