गेटामा विश्वविधालय बनाउने प्रधानमन्त्रीकाे प्रतिबद्धता

समाचार शेयर गर्नुहोस्

२९ जेठ, काठमाडाैं

कैलालीको गेटामा सञ्चालनका क्रममा रहेको सहिद दशरथ चन्द मेडिकल कलेजलाई राष्ट्रिय विज्ञान विश्वविद्यालयका रूपमा सञ्चालन गरिने भएको छ ।

आज सोमवार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा अर्थमन्त्री प्रकाशशरण महतसँग भेटघाट गरी कैलालीको गेटामा शहीद दशरथ चन्द मेडिकल विश्व विद्यालय सञ्चालन गर्न माग गरेकाे हाे । छलफलका क्रममा गेटामा मेडिकल विश्व विद्यालय सञ्चालन गर्ने सहमति भएको नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेमबहादुर आलेले बताउनु भएकाे छ ।

यस सम्बन्धमा प्रधानमन्त्री दाहाल र अर्थमन्त्री डा महतसँगको छलफल भएको र सरकारले सो विश्वविद्यालाय स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेको सांसद आलेले जानकारी दिनुभयो । सांसद आलेले भन्नुभयो, “विश्वविद्यालय सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री, अर्थमन्त्रीसँग हाम्रो छलफल भएको छ, ऐन ल्याउँदा विश्वविद्यालय बनाउने गरी ल्याउने तयारीसहितको सहमति भएको छ, प्रधानमन्त्रीले आज नै संसद्लाई गर्ने सम्बोधनका क्रममा सो कुराको जानकारी गराउने पनि प्रतिबद्धता गर्नुभएको छ, अब गेटामा विश्वविद्यालय सञ्चालन हुन्छ ।”

डोटीबाट निर्वाचित सांसद आलेले धनगढी–खुटिया–दीपायल–बझाङको उरैभञ्ज्याङ हुँदै चीनको ताक्लाकोट जोड्ने सडक निर्माणका लागि पर्याप्त बजेट विनियोजन गरी चीनसँगको नाका अविलम्ब खोल्न गर्नुभएको आग्रहमा पनि प्रधानमन्त्री ‘प्रचण्ड’ले सकारात्मक प्रतिक्रिया दिनुभएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको