बाढीपहिराे प्रभावित क्षेत्रमा खाधान्न तथा औषधिलगायतका बस्तुहरूकाे तत्काल व्यवस्था गरियाेस् : याेगेश भट्टराई

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

नेकपा (एमाले)का सचिव एवं सांसद योगेशकुमार भट्टराईले बाढी र पहिरोका कारण ठूलो धनजनको क्षति भएको ताप्लेजुङलगायतका पूर्वी पहाडी जिल्लामा खाद्यान्न, औषधिलगायतका अति आवश्यकी बस्तुहरूको तत्काल आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै भट्टराईले ती जिल्लाहरूमा मानवीय संकट उत्पन्न हुँदा पनि सरकारले पीडितहरूका लागि अति आवश्यकी बस्तुहरूको व्यवस्थापन गर्न नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे । उनले ताप्लेजुङ जिल्ला राजमार्गहरूबाट सम्पूर्ण रूपमा सम्पर्क विच्छेदको अवस्थामा रहेको उल्लेख गर्दै पहिरोले बगाएका पुलहरूको तत्काल निर्माण हुने गरी आवश्यक प्राविधिक जनशक्तिको व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण  गराए ।

उनले पुनर्निर्माण र पुनर्वासका लागि पनि सरकारले खासै काम गर्न नसकेको भन्दै आक्रोशसमेत व्यक्त गरे

उनले भने, ‘मेची राजमार्ग चलेको छैन । ताप्लजुङको सम्पर्क सम्पूर्ण रुपले विच्छेद भएको छ । त्यसकारण ताप्लेजुङमा एक प्रकारले भन्ने हो भने मानविय संकट उत्पन्न भएको छ सभामुख महोदय । खाद्य संकट, मानवीय संकट उत्पन्न भएर ठूलो मानवीय संकट त्यहाँ उत्पन्न भईरहेको छ । पुलहरु बगाएको छ । सडकहरु बगाएको छ । तर जति तदारुकताका साथ त्यसको मर्मत, सम्हार हुनुपर्ने थियो । त्यो हुन सकिरहेको छैन । त्यसकारण फेरीपनि मैले आज सभामुखमार्फत् नेपाल सरकारलाई ध्यानाकर्षण गर्नका निम्ति विशेष गरी जहाँ खाद्यन्न संकट छ । ती ठाउँहरुमा हवाई यातायातबाट भएपनि खाद्य, औषधिलगायतका अति आवश्यकीय बस्तुहरुको आपूर्ति व्यवस्था गर्न म सरकारसँग माग गर्न चाहन्छु।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको