भदौमा हल खुलेपनि प्रदर्शकले नेपाली चलचित्र पाएनन् । नेपाली चलचित्र तीन महिनाभित्र रिलिज गरेको खण्डमा विभिन्न सहुलियत दिने निर्णय चलचित्र विकास बोर्डले गयो । तर, पनि निर्माताहरुले चलचित्र रिलिजका लागि खासै मन बनाएनन् । बरु, हिन्दी चलचित्र ‘सूर्यवंशी’को बाटो कुरे ।
यो चलचित्रले बम्पर व्यापार गरेपछि निर्माताहरु चलचित्र रिलिजका लागि कस्सिए । नेपाली चलचित्रका निर्मातालाई नै सहज होस् भन्ने हेतुले चलचित्र संघले अशोक शर्माको संयोजकत्वमा गठन गरेको एक समितिले तीन महिनाका लागि नयाँ निर्णय गयो । जसअन्तर्गत, एउटा नेपाली चलचित्रसँग अर्को जुध्न नपाउने, एउटा नेपाली चलचित्र रिलिज भएको दुई सातापछि मात्र अर्को चलचित्र रिलिज गर्ने भन्ने थियो ।
तर, हरेक साता नयाँ बलिउड चलचित्र रिलिज हुन थालेपछि प्रदर्शकहरु यही धुनमा मस्त छन् । निर्माता संघ त मौन बसे जस्तै छ । यता निर्माताहरु भने चलचित्र संघले बनाएको नियमको कुनै पालना नै नगरी धमाधम आफूखुशी चलचित्र रिलिज गर्न थालेका छन् ।
पुस ९ गतेलाई निर्माता तथा निर्देशक ऋषिराज आचार्यले ‘चुरीफुरी’को प्रदर्शन मिति तय गरे । यो चलचित्र रिलिज हुनुभन्दा एक साताअघि निर्माता अर्जुन कुमारले चलचित्र ‘चपली हाइट ३’को रिलिज मिति तोके । अर्जुन यो विषयमा भन्छन्, ‘चुरीफुरीले रिलिज डेट तोकेको थिएन, निवेदन मात्र दिएको थियो ।’
अर्जुनले नै यहाँ नियम तोडेको देखिन्छ । अब पुस १६ गते चलचित्र ‘कठपुतली’ रिलिज हुँदैछ । यस अर्थमा यो चलचित्रले पनि ‘चुरीफुरी’का लागि दुई साता समय छाड्नुपर्ने कुरालाई बेवास्ता गरेको छ ।
दुई साताको अन्तरमा नेपाली चलचित्र रिलिज गर्नुपर्ने नियमलाई निर्माताहरुले लत्याएका त छन् नै, एउटै मितिमा दुईवटा चलचित्र समेत रिलिज गर्न तम्तयार भएका छन् । फागुन १३ गते वितरक गोविन्द शाहीले ‘लप्पन छप्पन २’ लगाउने पक्का गरेका थिए । अब यही मितिमा चलचित्र ‘प्रेमगीत ३’ पनि रिलिज हुने पक्का भइसकेको छ ।
निर्माताहरु विदेशी चलचित्रले थिचोमिचो गयो भन्दै कुर्लन्छन् । तर, आफ्नै देशमा बनेका चलचित्रलाई नै आफैं थिचोमिचो गर्दा भने मौन बस्छन् ।