फागुन महिनाभित्रै जयनगर–कुर्था रेल चलाउने तयारी

जनकपुरधाम । धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म रेल सेवा हुने खबरले यतिबेला धनुषाका एक दर्जन गाउँका स्थानीयवासी हर्षित भएका छन् । रेलमा चढ्ने वर्षौँदेखिको आफूहरुको सपना अब बल्ल पूरा हुने भएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिका, औरही गाउँपालिका र जनकनन्दनी गाउँपालिकासहितको विभिन्न स्थानीय तहका एक दर्जन गाउँका स्थानीयवासीमा खुशीयाली छाएको हो ।

विसं २०७७ असोज २ गते भारतीय कम्पनी कर्पोरेशनबाट रु ८४ करोड ६५ लाखमा खरिद गरिएको दुई सेट रेल बडो तामझामका साथ जयनगरबाट जनकपुर ल्याइएर धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ ।

भारतको जयनगरबाट धनुषाको कुर्थासम्म करिब ३५ किलोमिटर चल्ने सो रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा उद्घाटन गर्ने तयारी भएको नेपाल रेल्वे कम्पनीले जनाएको छ । ‘‘हामीले सन् २०२२ को फेब्रुअरी तेस्रो साताबाट जयनगर–कुर्था रेल सेवा सञ्चालन गर्ने तयारी गरेका छौँ”, नेपाल रेल्वे कम्पनीमा महाप्रबन्धक निरञ्जन झाले भन्नुभयो, “रेल चलाउन अब कुनै समस्या छैन, केवल उद्घाटन हुनमात्र बाँकी छ ।” दुवै देशका प्रधानमन्त्रीले संयुक्तरूपमा रेल सेवाको उद्घाटन गरेपछि नियमितरूपमा रेल सञ्चालन हुने महाप्रबन्धक झाको भनाइ छ ।

“कुन मितिबाट रेल चल्छ भन्ने ठ्याक्कै म अहिले भन्न सक्दिनँ”, महाप्रबन्धक झाले भन्नुभयो,‘‘ तर हामीले फेब्रुअरीको दोस्रो वा तेस्रो साताबाट रेल चलाउने तयारी गरेका छौँ ।” अहिले न्यूनतम आवश्यकताका आधारमा मात्र थोरै कर्मचारी नियुक्त गरेको र नियुक्त भएका कर्मचारीलाई तालिम दिएर काममा परिचालन गरिसकेको महाप्रबन्धक उहाँको भनाइ छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like