यस पटक दर्शनार्थीलाई मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गरिएको छ । महाशिवरात्रि पर्वमा पशुपतिनाथ दर्शन गर्न बर्सेनि हजारौंको संख्यामा दर्शनार्थी भेला हुने गरेका छन् । यस पटक शिवरात्रि आगामी मंगलबार परेको छ ।
कोरोना संक्रमणविरुद्धको स्वास्थ्य सुरक्षाको मापदण्डअनुसार पशुपति क्षेत्र विकास कोषले शिवरात्रिमा भेला हुनेलाई मास्क र सेनिटाइजर अनिवार्य गरेको हो । ‘सम्भव भएसम्म भौतिक दूरी पनि कायम गर्ने व्यवस्था मिलाएका छौं,’ कोषका कोषाध्यक्ष तथा महाशिवरात्रि पर्व प्रचारप्रसार व्यवस्था उपसमितिका संयोजक नारायणप्रसाद सुवेदीले भने ।
भक्तजनको सुरक्षाको विशेष योजना बनाइएको छ । उक्त दिन पशुपति क्षेत्रमा नेपाल प्रहरीको अगुवाइमा सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागको जनशक्ति परिचालित हुनेछन् । भकुन्डोलमा प्रहरीको शिविर राखिनेछ । मूल शिविरसँगै खोजखबर कक्ष रहने छ । मेला क्षेत्र र दर्शन मार्गमा सीसीटीभी क्यामरा जडान गरिएका छन् । आवश्यकताअनुसार प्रहरीका कमान्ड पोस्ट र सबकमान्ड पोस्टको समेत व्यवस्था गरेर सुरक्षा दिइने सुवेदीले जानकारी दिए । दर्शन मार्गमा ब्यारिकेड जडानलगायतका काममा नेपाली सेनाले सघाउने भएको छ ।
सुरक्षाकर्मीसँगै नेपाल स्काउटले समेत सुरक्षा प्रदान गर्नेछ । करिब ५ हजारको संख्यामा स्वयंसेवक परिचालन गरिने प्रचार उपसमिति सचिव रेवतीरमण अधिकारीले बताए । स्काउटका स्वयंसेवकले श्रद्धालुको लाइनको सहजीकरण गर्नेछन् ।
मन्दिर दर्शनका लागि तीनवटा दर्शन मार्ग व्यवस्था गरिएको छ । गुह्येश्वरी–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर छेउको उत्तरतिरको ढोकाबाट एउटा लाइन हुनेछ । अर्को लाइन मित्रपार्क जयबागेश्वरी, इटापाखा भएर भुवनेश्वरीस्थित फलामको ढोका हुँदै पश्चिम ढोकाबाट प्रवेश गर्ने व्यवस्था मिलाइएको छ । बत्तीसपुतली, गौशाला, एयरपोर्ट, तिलगंगा भएर आउने भक्तजनका लागि चार शिवालय हुँदै प्रवेश गर्ने व्यवस्था छ ।