प्रतिनिधिसभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नाप र ताैल ऐन २०२५ लाई संसाेधन गर्न ल्याइएको ‘स्ट्यान्डर्ड नाप र तौल पाँचौं संशोधन विधेयकमा पुनरावेदन गर्नसक्ने व्यवस्था समेत थप गरेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री बडूले निरीक्षकले गल्ती गर्छन् भने पुनरावेदन गर्न प्रमुखमा पुग्न सक्ने र जिल्लाको अदालतले गरेको निर्णयमा उच्च अदालतमा पूनरावेदनमा जान पाउने व्यवस्था थप गरिएको बताउनुभयो । छलफलमा भाग लिँदै नेपालभरि मेट्रिक प्रणालीलाई प्रयोगमा ल्याउने, आर्थिक गतिविधिमा स्वच्छता, जवाफदेहिता र प्रतिस्पर्धा तथा नापतौलको आधारभूत इकाइको परिभाषामा अन्तर्राष्ट्रियस्तरको बनाउने प्रयास उक्त विधेयकका प्रमुख उद्देश्य रहेको उहाँले बताउनुभयो । उहाँले नापतौलको यन्त्रलाई दुरुपयोग गर्ने वा कमजोरी गर्नेलाई कसुरको मात्रा हेरेर नयाँ किसिमले सजायको व्यवस्था गरिएको पनि बताउनुभयो ।
राष्ट्रियसभाको सन्देशसहितको ‘स्ट्यान्डर्ड नाप र तौल पाँचौं संशोधन विधेयक २०७८ माथिको छलफलमा भाग लिँदै सांसद घनश्याम खतिवडाले स्ट्यान्डर्डको सट्टामा नेपाली शब्द राख्न माग गर्नुभयो । विधेयकका केही दफाको संशोधनकर्तासमेत रहनुभएका सांसद खतिवडाले ऐनलाई समृद्ध बनाउका लागि नै संशोधन प्रस्ताव पेस गरेको जानकारी दिनुभयो ।