१२ सय ४० जनाले मात्र पीसीएल नर्सिङमा भर्ना पाउने

काठमाडाैं
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले आफ्नै १०० संख्याको अस्पताल भएका नर्सिङ कलेजमा मात्रै भर्ना खोलेको छ,३३ वटा नर्सिङ कलेजमा १ हजार २ सय ४० जनाले चालु शैक्षिक सत्रमा प्रमाणपत्र तह (पीसीएल) नर्सिङ पठनपाठन गर्न पाउनेछन् ।

त्यसका लागि सीटीईभीटीले सञ्चालन गर्ने प्रवेश परीक्षामा सशभागी हुनुपर्छ । यसअघि आफ्नै अस्पताल नभएका नर्सिङ कलेजमा पनि भर्ना लिने निर्णयबाट सरकार पछि हटेपछि सीटीईभीटीले मापदण्ड पुगेका शिक्षण संस्थामा भर्नाका लागि आवेदन आह्वान गरेको हो ।

चिकित्सा शिक्षा ऐनले संशोधन गरेर भएपनि सम्बन्धन पाएका सबै नर्सिङ कलेजमा नर्सिङ पढाइ हुने बताएका थिए । आफ्नै अस्पताल भएका कलेजकाे भर्ना पनि रोकेर राखिएको थियो । मन्त्रिपरिषद् बैठकले ऐनको व्यवस्था संशोधन संसद्मा प्रस्ताव लैजाने निर्णयसमेत गरेको थियो । तर चिकित्सा शिक्षा सुधारका अभियन्ताहरूको विरोधपछि मापदण्ड बदल्ने निर्णयबाट पछि हटेको हो । मापदण्ड पूरा गरेका नर्सिङ कलेजमा मात्रै भर्ना खोलिएको सीटीईभीटीका प्रवक्ता विनोद बडालले जानकारी दिए ।

पीसीएल नर्सिङ पढाउन १ सय ९ वटा कलेजले अनुमति पाएका छन् । ऐनले तोकेअनुसार अस्पताल नभएका कारण अधिकांश कलेज गत शैक्षिक सत्रदेखि नै बन्द छन् । थोरै कलेजले मात्रै नर्सिङ पठनपाठन गराउने हुँदा सीमित विद्यार्थीले मात्रै पढ्ने अवसर पाउँछन् । गत वर्ष पनि करिब १ हजार २ सय विद्यार्थीले मात्रै नर्सिङ पढ्ने अवसर पाएका थिए । ऐनको व्यवस्था लागू हुनुअघि १ सय ९ कलेजमा ४ हजारभन्दा बढी विद्यार्थीले नर्सिङ पढ्थे । सरकारले आंगिक कलेजमा नर्सिङ अध्यापनको व्यवस्था मिलाउन र सय बेडको अस्पताल भएका स्वास्थ्य संस्थालाई नर्सिङ पढाउने अनुमति दिनुको साटो नर्सिङ नै संशोधन गर्ने चलखेल गर्दै आएको छ । त्यसका मारमा विद्यार्थी परेका छन् ।

सरकारले प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने लक्ष्य लिएको छ । तर सीटीईभीटीले खुलाएको भर्नाअनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा एउटा शिक्षण संस्थाले पनि नर्सिङ पढाउन पाउँदैनन् । ३३ मध्ये २/२ वटा आंगिक र साझेदारी शिक्षण संस्था छन् भने अन्य निजी हुन् । सबैभन्दा धेरै वाग्मती प्रदेशका ११ वटा निजी कलेजमा ४ सय जनाले नर्सिङ पढ्न पाउँछन् । ९ वटा कलेजमा ४० जनाको दरले, महेन्द्रनारायण निधि मेमोरियल हेल्थ इन्स्टिच्युट काठमाडौं र च्छोरोल्पा जनरल अस्पताल चरिकोट दोलखाले २०/२० जना नर्सिङ पढाउन अनुमति पाएका छन् । मधेस प्रदेशमा २ वटा आंगिक र ८ वटा निजी गरी ३ सय ६० कोटामा नर्सिङ पठनपाठन हुनेछ । प्रदेश १ मा एउटा साझेदारी र ४ वटा निजी कलेजमा २ सय जनाले नर्सिङ पढ्न पाउँछन् । गण्डकी प्रदेशका ४ निजी कलेजमा १ सय ६० जना र लुम्बिनी प्रदेशका ३ कलेजमा १ सय २० जनाले नर्सिङ पढ्ने अवसर पाउँछन् ।

सरकारले नर्सिङ विषय अध्यापनका लागि दायित्व नलिएकाले अहिलेको अवस्था आएको चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. जीवन क्षत्रीले बताए । ‘सय बेडको अस्पताल नभएका कलेजलाई अस्पताल बनाउन राज्यले सहजीकरण गर्नुपर्छ,’ उनले भने, ‘राज्यले आफ्नो दायित्व बढाए विद्यार्थीले पढ्न नपाउने अवस्था आउँदैन ।’ नर्सिङको कार्यक्रम सञ्चालन गर्न अनुमति पाएका निजी कलेजले सरकारी र अन्य अस्पतालमा विद्यार्थीलाई प्रयोगात्मक अभ्यास गराउँदै आएका थिए । एउटै अस्पतालमा धेरै कलेजका विद्यार्थीको अभ्यास गराउनुपर्ने अवस्था थियो । गुणस्तरीय स्वास्थ्य जनशक्ति उत्पादनमा जोड दिँदै नर्सिङ पढाउन आफ्नै १०० बेडको अस्पताल चाहिने स्नातकर प्रमाणपत्र तहमा एउटै शिक्षण संस्थाले नर्सिङ पठनपाठन गराउन नपाउने व्यवस्था ऐनले गरेको छ । चालु शैक्षिक सत्रमा सीटीईभीटीले नर्सिङ पढ्न ४ लाख ७५ हजार शुल्क तोकेको छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like