जग्गा र भवनको कमिले कृषि क्याम्पस सङ्कटमा

६ भदाै,२०७९

खैरहनी-इतिहास बोकेको रामपुर क्याम्पस जो कृषि र पशु विज्ञानको पढाइ हुनेमा प्रख्यात छन्,ती क्याम्पस अहिले सङ्कटपूर्ण अवस्थाले गुज्रिरहेका छन् । भरतपुरको रामपुरमा छँदा सुविधासम्पन्न भवन र जग्गा आफ्नै नाममा रहेपनि पूर्वी चितवनको खैरहनीमा स्थानान्तरण भएपछि न त यो क्याम्पसको आफ्नो भवन छ,न जग्गा नै छ । त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस,रामपुर क्याम्पसको अस्तित्व त छ नै,तर दयनीय अवस्थाबाट सञ्चालन भइरहेको छ ।

सो क्याम्पस रहेको ठाउँ पश्चिम चितवनको रामपुरमा कृषि तथा वनविज्ञान विश्वविद्यालय स्थापना भएपछि यस क्याम्पसको अस्तित्व मेट्न नदिन खैरहनीमा सारियो र त्यस ठाउँमा कृषि तथा वनविज्ञान विश्वविद्यालय स्थापना भयो,रामपुर क्याम्पसलाइ खैरहनी ल्याइयो । क्याम्पस प्रमुख मिलन सुवेदी भन्छन्,’यहाँ आएको ४ वर्ष बितिसक्दा समेत जग्गाको त कुरै छैन्,एक कोठा पनि आफ्नो छैन्, दयनीय अवस्थामा सञ्चालनमा छ ।’२०७५ सालको असार २५ गते ५० जना विद्यार्थीबाट पढाइ सुरू गरेको क्याम्पसमा हाल २५० जना विद्यार्थी अध्ययनरत छन् ।

क्याम्पसमा पढाइ हुने कोठा,प्रशासन,लाइब्रेरी र प्रयोगशाला चारतिर छ तर ती सबै ठाउँ आफ्नाे होइन् । कक्षा सञ्चालन भइरहेको भवन पनि खैरहनी माविको र प्रशासनले प्रयोग गरिरहेको भवन नगरपालिकाको हो । प्रयोगशाला साबिक विद्यालय रहेको दुर्गा मन्दिरमा छ भने लाइब्रेरी तत्कालीन कृषि सेवा कार्यालयको भवनमा छ । प्रशासन, लाइब्रेरी र कक्षाको दूरी नजिकै रहे पनि प्रयोगशाला केही टाढा छ । विद्यार्थीलाई प्रयोगात्मक अभ्यासका लागि आफ्नै जग्गा छैन । भाडामा लिएको जग्गामा अभ्यास गर्नुपर्ने बाध्यता छ । ‘नगरपालिका, खैरहनीवासीको साथ र सहयोग हुन्थेन त यो क्याम्पसको अस्तित्व मेटिन्थ्यो’, क्याम्पसप्रमुख सुवेदीले भने, ‘प्रशासन, कक्षा, प्रयोगशाला, लाइब्रेरी छरिएर रहँदा गाह्रो त हुन्छ, तर बाध्यताका बीच चल्नु परेको छ ।’

खैरहनी आएपछि कठिनाइका बाबजुद सञ्चालन भइरहेको कृषि क्याम्पसले आइतबार ५०औँ स्थापना वर्ष मनाएको छ । नेपाल सरकारले प्रस्ताव गरेपछि त्रिभुवन विश्वविद्यालयले निर्णय गरेको कङ्काली सामुदायिक वनको जग्गामा स्वर्ण जयन्ती मनाएको हो । निर्णय भएको चार वर्ष नाघे पनि कङ्काली जान अझै सकेको छैन । कोरोना सङ्क्रमण, सरकार फेरबदल, मन्त्री परिवर्तनलगायत कारणले जग्गा प्राप्त गर्न ढिलाइ भए पनि प्रक्रिया सुरू भइसकेको क्याम्पसप्रमुख सुवेदी बताउँछन् । ‘विविध कारणले जग्गा पाउन ढिलाइ भयो’, सुवेदी भन्छन्, ‘काम रोकिएको थिएन, प्रक्रियामा छ अब छिटै प्राप्त हुने आशा छ ।’

कङ्काली सामुदायिक वनले पनि क्याम्पसका लागि ३२ बिगाहा जग्गा दिन तयार भइसकेको वनका अध्यक्ष राममणि न्यौपानेले बताए । ‘इतिहास बोकेको क्याम्पस हाम्रो ठाउँमा आउनु गौरवको विषय हो’, वनका अध्यक्ष न्यौपानेले भने, ‘क्याम्पसलाई आवश्यक जग्गा हामीले दिने सहमति गरेरै प्रक्रिया अघि बढेको हो ।’ वनको भुतिया क्षेत्रको जग्गा क्याम्पसलाई दिइनेछ । जहाँ तत्कालीन माओवादी लडाकुको अस्थायी शिविर रहेको थियो त्यहाँ रहेका टहरा मर्मत गरेर प्रयोग गर्नका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृति भइसकेको क्याम्पसप्रमुख सुवेदीले बताए । वन मन्त्रालयले हक हस्तान्तरण गर्ने प्रक्रिया सुरू भएको सुवेदीले बताए ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण प्रसाद खनालको प्रमुख आतिथ्यतामा स्वर्ण जयन्ती मनाइएको थियो । जहाँ त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा. तीर्थ खनियादेखि जिल्लास्तरीय राजनीतिक दलका प्रमुख, प्रतिनिधिहरु सहभागी थिए । उनीहरुले पनि क्याम्पसलाई आवश्यक जग्गा तुरून्त व्यवस्थापन गर्न आआफ्नो ठाउँबाट पहल र सहयोग गर्ने बचन दिए ।

क्याम्पसप्रमुख मिलन सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद्हरु कञ्चन खनाल, भावना सुवेदी, पूर्वउपकुलपति डां तीर्थ खनिया, नेकपा एमाले केन्द्रीय सदस्य जेएन थपलिया, नेपाली कांग्रेस जिल्ला सभापति राजेश्वर खनाल, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारी, नेकपा एकीकृत समाजवादीका प्रतिनिधि दुर्गा अर्याल, क्याम्पसका उपप्रशासक राजेन्द्र पोखरेल, पूर्वक्याम्पसप्रमुख श्यामसुन्दर पन्त, कङ्काली वनका अध्यक्ष राममणि न्यौपानेलगायतले मन्तव्य राखेका थिए ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like