१९ भदौ, काठमाडौं । क्यानडाको भिसा लिन भीएफएस ग्लोबल भिसा सेन्टर पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई लाइन बस्नुपर्छ भन्ने एकजना सुरक्षागार्ड पक्राउ परेका छन् ।
शुक्रबार ठमेलस्थित छायाँ सेन्टरमा रहेको भीएफएस ग्लोबल भिसा सेन्टरमा भिसा आवेदनका लागि बायो मेट्रिक दिन पुगेका मन्त्री श्रेष्ठलाई सुरक्षागार्डले लाइनमा बस्न आग्रह गरेका थिए । तर मन्त्रीलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्रेको छ ।
मन्त्री श्रेष्ठ आइतबार दिउँसो श्रीमतीसहित दलबल लिएर ठमेलस्थित छायाँ सेन्टरमा पुगेका थिए ।मन्त्री श्रेष्ठ छायाँ सेन्टर पुगेका बेला अन्य व्यक्तिहरु लाइन बसिरहेका थिए । निजी सुरक्षा अधिकृत (पीएसओ)सहित गएका पर्यटनमन्त्री श्रेष्ठ त्यहाँबाट अगाडि जान खोज्दा सुरक्षागार्ड शेरजंग गुरुङले रोकेका थिए । लगत्तै पीएसओले उनी मन्त्री भएको बताए ।
तर सुरक्षागार्ड श्रेष्ठले ‘जो भए पनि लाइन’मा आउनुस् भनेका थिए । त्यसपछि विवाद भएको थियो । यही विषयलाई लिएर मन्त्रालयले प्रहरीमा जाहेरी पनि दिएको छ ।
छायाँ सेन्टरमा रहेको भीएफएस ग्लोबल भिसा सेन्टर एउटा अन्तर्राष्ट्रिय निजी कम्पनी हो । जसले क्यानडा, जापानसहित युरोपका धेरै देशको भिसा प्रक्रिया अघि बढाउँछ । र उसले सबै सेवाग्राहीलाई समान व्यवहार गर्छ ।
‘जो आए पनि लाइनमा बस्नुपर्ने भन्ने नियम छ तर पूर्वजानकारी हुँदा समन्वय पनि हुने गरेको सेन्टरका एक कर्मचारी बताउछन् ।
श्रीमतिसहित पुगेका मन्त्री श्रेष्ठ त्यहाँ पुग्दा लाईनमा जम्मा दुई जना मात्रै रहेको पनि प्रत्यक्षदर्शी बताउछन् । दुई जना पछाडि समेत बस्न नसकेर मन्त्री श्रेष्ठले आफु मन्त्रीभएको भन्दै पालो मिचेर जान खोजेपछि सुरक्षागार्डले रोकेका थिए । विवादपछि पर्यटन मन्त्री श्रेष्ठले भित्र गएर बाहिर आएपछि प्रहरीलाई खबर गरेको बताईएको छ ।
मन्त्रालयबाट खबर आउने वित्तिकै प्रहरी वृत्त दरबारमार्गको टोलीले गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भरतबहादुर बोहोराले बताए । उनका अनुसार ‘ सुरक्षागार्डलाई अभद्र व्यवहारको कसूरमा म्याद थप गरेर अनुसन्धान गर्ने तयारी छ ।’