डोटीमा भूकम्पले घर भत्काउँदा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।मंगलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा पूर्वी चौकी गाउँपालिका–३ को ठाडा गाउँका ६ जनाको मृत्यु भएको डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भोलाप्रसाद भट्टले बताउनु भयो
६ जनाकै शव निकालिएको प्रहरीले जनाएको छ ।भूकम्पले सोही वडाका पाँच जना घाइते भएका छन् । घाइते हुनेमा ४५ वर्षीय महाविर बोहरा, ४० वर्षीय इन्नरी बोहरा, ४५ वर्षीया बिस्नादेवी बोहरा, ४६ वर्षीय चनादेवी बोहरा र ११ वर्षीया धौली बोहरा छन् ।
उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक भट्टले जानकारी दिनुभयो । भूकम्पले ठाडागाउँका ८ वटा घर भत्काएको छ भने जिल्लाका अन्य स्थानमा पनि भौतिक क्षति भए पनि मानवीय क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।
बुुधबार साँझ ९ बजेर ७ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर ५ दशमलव ७ म्याग्नीच्यूडको भूकम्प गएको थियो भने मध्यराति २ बजेर १२ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज (खप्तड बाबाको आश्रम) केन्द्रबिन्दु बनाएर ६.६ रेक्टरको भूकम्प गएको हो ।