मतदान गर्दा घोषणापत्र, सिद्धान्त, निष्ठा र कार्यक्रमका आधारमा गर्न प्रमुख निर्वाचन अायुक्त थपलियाकाे अग्रह
दिब्य पाना
भरतपुर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बहुदलीय व्यवस्थामा दलको घोषणापत्र, सिद्धान्त, निष्ठा र कार्यक्रमका आधारमा उम्मेदवारले मत माग्नुपर्ने बताएका छन्।
गोरखापत्र संस्थानले आज यहाँ आयोजना गरेको ‘निर्वाचन समाचार लेखन अनुशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै उनले सांसदको भूमिका नबुझी स्थानीय तहले गर्ने काम गर्छु भन्ने खालका आश्वासनका आधारमा मतदान गर्न नहुने बताएका हुन्।
निर्वाचन प्रक्रियामा अझै रुपान्तरण हुन बाँकी रहेको उल्लेख गदै उनले भने, “निर्वाचनलाई राष्ट्रिय एकताको सूत्रमा पाँच वर्ष मुलुकलाई कता लाने हो भन्ने सन्देश प्रवाह गर्ने काम पत्रकारको हो।” थपलियाले अबका दिनमा मतदानस्थल र मतदान केन्द्रमा केन्द्रित भएर निर्वाचनमय समाचार सङ्कलन र सम्प्रेषण गर्न पत्रकारलाई आग्रह गरे।
सो अवसरमा चितवनका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापा र प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जिल्लामा निर्वाचनका तयारी, आचारसंहिताको पालनालगायतका विषयमा प्रकाश पारेका थिए।
कार्यक्रममा गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्र राज्यको मिडिया भएकाले स्वच्छ, निष्पक्ष र भयरहित वातावरण सिर्जना गर्ने दायित्व आफ्नो पनि रहेको बताए।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका गोरखापत्र संस्थानका समाचारदाता सहभागी एकदिने अनुशिक्षण कार्यक्रममा ६० जनाको सहभागिता रहेको छ। संस्थानले अन्य प्रदेशमा यही खालको अनुशिक्षण सम्पन्न गरिसकेको छ।