भरतपुर । चितवन मेडिकल कलेज (नयाँ)ले एकतर्फीरुपमा स्वास्थ्य बिमा कार्यक्रम भङ्ग गरेपछि त्यसको प्रत्यक्ष फाइदा कलेज अफ मेडिकल साइन्सेस भरतपुर (पुरानो) मेडिकल कलेजलाई भएको छ केही महिनाअघिसम्म २ सय ५० जति बिमाका ओपिडी बिरामी हुने गरेकोमा अहिले ५ सय जनाजति हुने गरेको उनले जानकारी गराए । चितवन र आसपासका जिल्लाबाट समेत रिफर लिएर बिरामीहरु पुरानो मेडिकल कलेज आउने गरेका छन् ।
गोरखा नगरपालिका लक्ष्मीबजारका उदय बस्नेतले गोरखा अस्पतालबाट रिफर ल्याएको बताए । ‘पत्थरीको अप्रेसन भए पनि त्यहाँका डाक्टरले उपचारमा जोखिम लिन आनाकानी गरेपछि हामीले काठमाडौँभन्दा चितवन ठीक भनेर मेडिकल कलेजलाई छानेका हौँ’, उनले बताए । यसअघि दुवै मेडिकल कलेजमा बिमा सुविधा भएपछि अहिले पुरानोमा मात्र भएकाले यहीँ आएको उनको भनाइ छ ।
चितवन मेडिकल कलेजले गत साउन १ गतेबाटै लागू हुने गरी बिमा सुविधाको उपचार दिन छाडेको हो । चितवन मेडिकल कलेजका पारस अधिकारीले बजेट भाषणमा बिमा सेवा र रकम भुक्तानीबारे सरकारको नीति अस्पष्ट देखिएकोले आफूहरुले सेवा दिन छाडेको बताए ।
सरकारको नीति प्रस्ट आएपछि सुरू गर्ने वा सधैँलाई बन्द गर्ने भन्नेबारे निर्णय लिइने अधिकारीको भनाइ छ । यस अस्पतालले बिमा कार्यक्रम निरन्तरताबारे बिमा बोर्डसँग जवाफ मागेको छ । तर, बोर्डले जवाफ पठाएको छैन । त्यस कारण, सेवा रोकिरहने वा सुचारू गर्ने भन्ने अन्योल रहेको अस्पताल प्रशासनले जनाएको छ ।